काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट निर्वाचित भएका अर्याल निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीतिक यात्रामा स्थापित भएका नेता हुन् । उनले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
नवनिर्वाचित सभामुख अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा सक्रिय रहँदै आएका उनी उद्यमशील पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउँदै अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी पार्टीका संस्थापक उपसभापति समेत हुन् ।
संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीका रूपमा कार्यरत रहँदा उनले श्रमिकका अधिकार संरक्षण, वैदेशिक रोजगार प्रणालीमा प्रक्रियागत सुधार तथा सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । नवनिर्वाचित सभामुख अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
अन्य दलबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेका छन् ।
संसद्का प्रमुखका रूपमा अब अर्याललाई कानुन निर्माण प्रक्रिया सुदृढ बनाउने, सरकारका गतिविधिमाथि प्रभावकारी निगरानी राख्ने तथा राजनीतिक ध्रुवीकरण र दलहरूबीचको मतभेदलाई सन्तुलित ढंगले व्यवस्थापन गर्दै संसद् सञ्चालन गर्नु प्रमुख चुनौती रहनेछ ।
यसका साथै विधेयक तथा प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको कडाइका साथ पालना गराउनु पनि उनको जिम्मेवारी हुनेछ । सभामुखको हैसियतमा उनले दलीय दबाब र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष निर्णय लिनुपर्ने अपेक्षा गरिएको छ । जनताबाट उच्च अपेक्षाबीच उनको भूमिका अझ जिम्मेवार र प्रभावकारी बन्नुपर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया