काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता संकटपूर्ण स्थितिमा रहेको बताएका छन् ।
उनले यो संकटबाट मुलुकलाई जोगाउनका लागि सबै देशभक्त शक्तिहरू र वामपन्थीहरूको नयाँ ध्रुवीकरण अपरिहार्य रहेको बताएका हुन् ।
नेता पोखरेलले हालैका राजनीतिक उतारचढाव र ‘जेनजी’ आन्दोलन स्वस्फूर्त नभई योजनावद्ध भएको दाबी गरे ।
सन् २०११ मा अमेरिकी दुतावासले गठन गरेको ‘युथ काउन्सिल’ मार्फत नेपाली युवाहरूलाई लक्षित गरी प्रभाव विस्तार गरिएको उनको आरोप छ ।
उनले अमेरिकी दुतावासले बनाएको युथ काउन्सिल तत्काल खारेज गर्न माग गरे । उनले युवाहरूलाई विचार र राजनीतिबाट टाढा राखेर ‘हिप्नोटाइज’ गरिएको तर्क समेत गरे ।
पोखरेलले एमसीसी, आईपीएस र एसपीपीलाई अमेरिकी रणनीतिको हिस्सा भएको बताउनु भयो । उनकाअनुसार अमेरिकाको उद्देश्य नेपालमा सैनिक ब्यारेक खडा गर्ने (एन्टी–चाइना इनसर्कलमेन्ट), दक्षिण एशिकयामा मोनिटरिङ सेन्टर बनाउने र नेपालमा रहेका बहुमूल्य ‘रेयर अर्थ मेटेरियल’ (दुर्लभ खनिज) माथि आँखा गाड्नु रहेको छ ।
उनले भने, ‘हामी एक्लाएक्लै रह्यौँ भने देश हामीले सोचेजस्तो स्वतन्त्र र सार्वभौम रहने छैन । मुलुकको स्थायित्वका लागि कांग्रेस, कम्युनिष्ट वा अरू कुनै पनि देशभक्त शक्ति एक ठाउँमा उभिनैपर्छ । नेपाली भूमिमा युवाहरूलाई लक्षित गरेर दूतावासले संगठन बनाउन पाइन्छ कि पाइन्न ? के हामीले अमेरिकामा गएर त्यसरी संगठन बनाउन पाउँछौँ ? चीन र भारत हाम्रा छिमेकी हुन्, उनीहरूले सुरक्षाको कुरा उठाउनु स्वाभाविक होला, तर ८ हजार माइल टाढा रहेको अमेरिकाले नेपालसँग कुन सुरक्षा स्वार्थमा सम्झौता र शुभकामना दिनुपर्ने हो ?’
नेता पोखरेलले वर्तमान सरकार र अर्थमन्त्रीको कार्यशैलीमाथि पनि कडा आलोचना गरे । अर्थमन्त्रीले संविधान विपरीत ‘नव–उदारवादी’ अर्थतन्त्रको कुरा गरेको भन्दै उनले नेपालको संविधानले मिश्रित अर्थतन्त्र (निजी, सहकारी र सार्वजनिक) लाई मात्र स्वीकार गर्ने स्पष्ट पारे ।
निर्वाचनको परिणाम र परराष्ट्र सम्बन्धको चर्चा गर्दै उनले ‘एल्गोरिदम’ र ‘पोलिटिकल मास हिस्टेरिया’ का कारण चुनावी नतिजा प्रभावित भएको बताए । उनले विचारमा मतभेद भए पनि राष्ट्रियताको सवालमा सबै वामपन्थी र देशभक्तहरू एक हुनुको विकल्प नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया