नेपालमा अमेरिकी रणनीतिअनुसारको कठपुतली सरकार बन्यो : मोहनविक्रम सिंह

लोकपथ
126
Shares

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी  गरेका छन् । 

अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप  लगाएका हुन् । 

सिंहकाअनुसार कुनै पनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ । नेपालमा अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पुर्‍याउने र अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने उनको विश्लेषण छ । 

महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको आशंका व्यक्त गरे । उनले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताए । सिंहले पपुलिजम (लोकप्रियतावाद) लाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने बताए ।  

उनले भने,‘अमेरिकालाई नेपालमा यस्तो राजनीतिक शक्ति चाहिएको थियो, जसको आफ्नै कुनै राजनीतिक दिमाग छैन र अर्कैको निर्देशनमा नाङ्गो रूपमा चल्छ । हामीले युक्रेन, गाजा र इरानको स्थिति देखेका छौँ, नेपाललाई पनि त्यस्तै युद्धभूमि बनाउने योजनाबद्ध प्रयास भइरहेको छ । जब जनतामा राजनीतिक विचारभन्दा भावना हाबी हुन्छ, तब देशले गम्भीर क्षति व्यहोर्नुपर्छ । अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको सिकार भएका छन् ।’

सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको भन्दै उहाँले लोकतान्त्रिक अधिकारहरू खोसिएकोमा चिन्ता व्यक्त गरे । उनले अमेरिकी साम्राज्यवाद र यो गम्भीर संकटका विरुद्ध सारा देशभक्त नेपाली, वामपन्थी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?