काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘निर्वाचन मूल्यांकन तथा परराष्ट्र नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रास्वपाले निर्वाचनमा चमत्कारिक नतिजा ल्याएको उल्लेख गर्दै त्यसको पृष्ठभूमि विश्लेषण आवश्यक रहेको बताए ।
परराष्ट्रविद् समेत रहेका भट्टराईले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढ्दै गएको अवस्थामा दलहरूबीच राष्ट्रिय एकता अपरिहार्य भएको स्पष्ट पारे । उनले आन्तरिक प्रतिस्पर्धा र मतभेद स्वाभाविक भए पनि राष्ट्रिय हितका मुद्दामा एकजुट हुनुपर्नेमा जोड दिए ।
उनका अनुसार, वर्तमान विश्व व्यवस्थामा नेपालजस्तो संवेदनशील भू–स्थितिमा रहेको देशले विदेश नीतिबारे व्यापक सार्वजनिक बहस अघि बढाउन आवश्यक छ । ‘दलहरूबीच तत्काल संवाद सुरु गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ, ‘उनले भने ।
भट्टराईले चीन र भारतजस्ता ठूला छिमेकीबीच रहेको नेपालले सन्तुलित र परिपक्व विदेश नीति अपनाउनुपर्ने उल्लेख गर्दै भूराजनीतिक चुनौतीबाट जोगिन राष्ट्रिय सहमति नै मुख्य उपाय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया