पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ 

लोकपथ
315
Shares

काठमाडौं । पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो । 

पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्स पार्टी गरिरहेको बेलामा प्रहरीले मंगलबार राती छापा मारेर नियन्त्रणमा लिएको हो । 

पार्टीमा लागुऔषध प्रयोग र विक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए  । 

उनकाअनुसार नियन्त्रणमा लिएकामध्ये ८ जनासँग लागुऔषध फेला परेको छ । एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागुऔषध फेला परेको प्रहरीले बताएको छ । 

उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताए । बाँकी रहेकाहरूको हकमा भने विगतको आपराधिक पृष्ठभुुमी खोजिरहेको र सोहीअनुसार कारबाही प्रक्रिया अगाडी बढाउने उनको भनाई छ । 

उनले भने, ‘पोखरा १८ सेदीभन्दा माथि एकान्त स्थानमा एउटा घर रहेछ, त्यहाँ ट्रान्स पार्टी लागुऔषध, मादकपदार्थसहितको पार्टी गर्दैछन्, नेपाली र विदेशी मिलेर भन्ने सूचना प्राप्त भयो । त्यसपश्चात बैदाम प्रहरी कार्यालयका डिएसपी नवराज भट्टराईको नेतृत्वमा प्रहरी टोली गएर घेरा हाल्यौँ । त्यहाँ पार्टी गर्दै गरेको अवस्थामा मान्छेहरू फेला परे, उनीहरूको खानतलासी गर्ने क्रममा ८ जनासँगबाट विभिन्न प्रकारका लागुऔषध बरामद भयो । धेरै जना मापसे सेवन गरेको पनि भेटिएको थियो । हामीले अनुसन्धान गर्नको लागि ३८ जनालाई नियन्त्रणमा लिएर बैदाम प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लागुऔषध भेटिएकाहरूलाई लागुककऔषधसम्बन्धी नै अनुसन्धान हुन्छ र मुद्दा दर्ता हुन्छ । बाँकी अन्यको पनि हामी स्क्रिनिङ गर्दैछौँ, विगतको आपराधिक पृष्ठभूमिको बारेमा । जसको केही देखिँदैन, उहाँहरू छुट्नुहुन्छ । जोजो मुद्दा चल्नलाई प्रमाण पुग्छ, उहाँहरुलाई भने मुद्दा चल्छ । लागुऔषधसहित भेटिएकोमा एक जना इजरायली, दुई जना भारतीय छन् । आठ जनामा बाँकी पाँच जना नेपाली छन् ।’

प्रहरी उपरीक्षक कार्कीकाअनुसार घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद गरिएको छ । बरामद सामग्रीमा एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिनजस्तो पदार्थ), गाँजा, ‘म्याजिक मसरुम’ तथा एलएसडी रहेका छन् । उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्स पार्टी आयोजना गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?