शहीद दशरथ चन्द विश्वविद्यालयको काम तत्काल अघि बढाउने बालेनको बचन

लोकपथ
119
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग सामूहिक भेट गरी उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

त्यस अवसरमा उनले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताएका थिए ।

आफूहरुले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन,खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरुको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ । त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ । र गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो संचालनमा ल्याउन सकिन्छ रु त्यो कुरा पनि आएको छ । यी दुई वटा कुराहरु महत्वपूर्ण रुपमा आएका छन् ।’

बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिएको थियो ।

धनघढी–दीपायल दु्रतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री साहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले यो आर्थिक वर्षमा हाम्रो बजेटको आकारलाई हेरेर तत्काल समाधान गर्नैपर्ने अत्यन्तै जरुरी योजनाहरुको बारेमा कुरा राख्नु होला भनेर भनेर सुरुमै जानकारी भए बमोजिम हामीले अत्यन्तै जरुरी, जो गर्नैपर्ने योजनाहरु छन् । त्यसको बारेमा मात्रै हामीहरुले कुरा राखेका थियौ । मैले मेरो क्षेत्रमा जेन–जी आन्दोलन पश्चात क्याविनेटबाट गरिएको निर्णयहरु जो रोकिएर बसेका छन । त्यसलाई अघि बढाउन भनेका छौँ । धनगढी–दिपायल फाष्ट ट्रयाकलाई अघि बढाउने कुरा गरेका छौ । जरुरी सडक, खानेपानी, नेटवर्कलगायतका विषयमा पनि हामीले राखेका छौ । जनताको समस्याको विषयहरु सग्रतामा हामीले राखेका छौँ ।’

प्रधानमन्त्री शाहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदहरुसँगका भेटवार्तालाई निरन्तरता दिइरहेका छन् । भेटमा उनले अति जरुरी जनचासाको योजनाहरुलाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताउने गरेको भेटमा सहभागी सांसदहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?