निर्माण व्यवसायीका समस्या समाधान पहिलो प्राथमकितामा छ : बहादुर सिंह लामा

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानून नै सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।

निर्माण व्यवसायी महासंघको चुनावी सरगर्मीका बीच आयोजित कार्यक्रममा बोल्दै उनले राज्य र व्यवसायीबीच हुने सम्झौता ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) अवस्थामा हुनुपर्नेमा जोड दिए ।

उनले इजरायल र इरानबीचको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेक्का लिइसकेका व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको उल्लेख गर्दै यसलाई सम्बोधन गर्न कानून नै परिवर्तन गर्नुपर्ने बताए ।

आफू पनि निर्माण व्यवसायीकै पृष्ठभूमिबाट राजनीतिमा आएको स्मरण गराउँदै नेता लामाले महासंघमा सह–कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा काम गरेको बताए । उनले निर्माण व्यवसाय इन्जिनियरिङ, प्रविधि र विज्ञानसँग जोडिएको विषय भएकोले यसलाई बुझ्ने प्राविधिक र सक्षम नेतृत्व आवश्यक रहेको बताए ।

अघिल्लो अनुभव सम्झँदै उनले भने, ‘मैले मुख्यमन्त्री र अर्थमन्त्री हुँदा कुनैपनि निर्माण व्यवसायीको भुक्तानी बाँकी नराखी ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको इतिहास छ। भौतिक पूर्वाधार, खानेपानी र सिँचाइका क्षेत्रमा रोकिएका पुराना भुक्तानीहरू फस्र्योट गरेर व्यवसायीहरूलाई राहत दिएको थिएँ ।’

सरकारको दृष्टिकोण अझै सकारात्मक नभएको गुनासो गर्दै उनले व्यवसायीहरू आफैं सक्षम र एकतावद्ध हुनुपर्ने बताए । साथै व्यवसायीहरूले कोषमा जम्मा गरेको रकमलाई क्षमता अभिवृद्धि र प्रविधि भित्र्याउन प्रयोग गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

नेता लामाले सम्पूर्ण निर्माण व्यवसायीहरूलाई आगामी महासंघ अधिवेशनमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?