राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : प्रमुख जिल्ला अधिकारी पौडेल

लोकपथ
462
Shares

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको  बताएका छन् । 

आइतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्  । 

उनले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ती फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको  बताए । 

आफूहरूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उनको भनाइ छ । 

उनले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानूनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिने समेत स्पष्ट पारे ।

उनले भने, ‘कुनै पनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी यहाँहरुलाई पनि यही अनुरोध गर्छौँ । यो बिचमा हामीले जुन खालको हिंसा देख्यौँ त्यो अवस्थाबाट अब स्थीरतातर्फ जादैगर्दा केही राजनीतिक घटनाक्रम विकसित भएका छन् । यस अवस्थामा यो एआईको जमानामा मिडियामा छुट्टै ढंगले पनि जानसक्छ । यसतर्फ सचेत हुन पनि हामी अनुरोध गर्न चाहन्छौँ । हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ । हामी हाम्रो प्रशासनिक पेशागत भावअनुसार अगाडि बढ्छौँ । हिजोको घटनामा केही झडपहरू भएका छन् । हाम्रोतर्फत सबै क्षेत्रमा के भइरहेको छ भने फिल्डबाट हामी आएका हौँ । हामी सुरक्षाकर्मीहरूलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ । केही हर्कतहरु हिजो भएका छन् । ती सबैलाई कानुनी दायरमा ल्याउँछौँ ।’

पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको थियो । 

विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासन विपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?