काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएको बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएका छन् ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एन्ड रोड इनिसिएटभ्’लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन् ।
साथै, प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया