काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनाविरुद्ध संसद, सडक र न्यायालय तीनै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ओलीलाई गैरसंवैधानिक र गैरकानूनी ढंगले पक्राउ गरिएको दाबी गर्दै त्यसविरुद्ध सशक्त विरोध गरिने बताए ।
उनका अनुसार एमालेले कानूनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोध कार्यक्रम सञ्चालन गर्नेछ । उनले सरकारलाई जनमतको दुरुपयोग नगर्न आग्रह गर्दै प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समस्या समाधान नगरी द्वन्द्व बढाउने चेतावनी दिए ।
भट्टराईले भने, ‘यो कदम गैरसंवैधानिक र गैरकानूनी छ । हामी यसलाई संसदमा पनि उठाउँछौँ, सडकबाट पनि प्रतिरोध गर्छौँ र कानूनी रूपमा न्यायालयमा पनि जानेछौँ । हाम्रो विरोध संयमित हुन्छ, उच्छृङ्खल हुँदैन । हामी संविधान र कानूनी दायराभित्रै रहन्छौँ ।
उनले कार्की आयोगको प्रतिवेदन त्रुटिपूर्ण र प्रतिशोधपूर्ण रहेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताए । भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिनका लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ ।
न्यायिक समितिबाट आउने निष्कर्ष स्वीकार्य हुने बताउँदै उनले कार्की आयोगको प्रतिवेदनलाई एमाले मात्र नभई आमजनताले पनि अस्वीकार गरेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया