काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै व्यापक आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरेलगत्तै उनले आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहणपछि मन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिस कार्यान्वयनलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले आयोगको सुझावअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिए ।
उनका अनुसार पाँच दिनभित्र ‘आर्थिक स्थितिपत्र’ तयार पारिनेछ भने सरकारको निर्वाचन वाचापत्र कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाइनेछ । निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धन, ठूला विकास आयोजनाको सहजीकरण तथा प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयक ल्याउने तयारी रहेको उनले बताए ।
‘अब ठूला आयोजना फटाफट अघि बढ्ने वातावरण बनाइन्छ, मन्त्री वाग्लेले भने ।
उनले अर्थतन्त्रका समस्या समग्र रूपमा समाधान गर्ने नीति लिइने उल्लेख गर्दै तजबिजी अधिकार हटाएर प्रणालीगत सुधार गरिने बताएका छन् । सार्वजनिक खर्च पुनरावलोकन आयोगका सिफारिस कार्यान्वयन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र रूपान्तरणकारी बजेट निर्माणमा जोड दिइने उनको भनाइ छ ।
मन्त्री वाग्लेले विद्युतीय शासन प्रणालीलाई प्रवर्द्धन गर्दै ‘पेपरलेस’ र ‘क्यासलेस’ प्रणालीको सुरुआत अर्थ मन्त्रालयबाटै गरिने बताएका छन् । साथै, मध्यपूर्व क्षेत्रमा देखिएको अन्तरराष्ट्रिय परिस्थितिको प्रभाव व्यवस्थापनका लागि अन्तर–निकाय समन्वय गरिने पनि उनले स्पष्ट पारे ।
खारेज वा संशोधनका लागि अघि बढाइने ऐनहरूमा आय टिकट दस्तुर ऐन, २०१९, कालोबजार तथा सामाजिक अपराध ऐन, २०३२, निजी वन जङ्गल राष्ट्रियकरण ऐन, २०१३, राजस्व चुहावट नियन्त्रण ऐन, २०५२ लगायत रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति समेत रहेका वाग्लेले वर्तमान सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्दै आर्थिक तथा कानुनी सुधारको स्पष्ट मार्गचित्र अघि बढाउने बताएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित वाग्ले अनुभवी अर्थशास्त्रीका रूपमा परिचित छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व बैंक लगायत अन्तरराष्ट्रिय संस्थामा काम गरिसकेका उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।
शैक्षिक रूपमा उनले लण्डन स्कूल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेसनल विश्वविद्यालय बाट उच्च शिक्षा हासिल गरेका छन् ।
अर्थमन्त्री वाग्लेको नियुक्ति सुस्त आर्थिक वृद्धि, घट्दो राजस्व, बढ्दो सार्वजनिक ऋण र कमजोर विकास खर्च कार्यान्वयनजस्ता चुनौतीबीच भएको छ । यस्तो अवस्थामा आर्थिक स्थायित्व, लगानी वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल पुनःस्थापना उनका प्रमुख प्राथमिकता हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया