बालेनमाथि अर्थमन्त्री खनालको कटाक्ष– ‘साइत हेरेर शपथग्रहण कत्ति मन परेन’

लोकपथ
280
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्रीको शपथग्रहण साइत हेराएर गर्न लागिएकोप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले प्रधानमन्त्रीको शपथग्रहणको तयारी भएको छ ।

बालेनले धार्मिक विधि अनुसार साइत हेराएर शपथग्रहणदेखि पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।

सो विषयमा प्रतिक्रिया जनाउँदै अर्थमन्त्री खनालले साइत हेरेर शपथग्रहण गर्ने तयारी आफूलाई कत्ति पनि मन नपर्ने बताए ।

‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन । हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले आफूहरुले साइत हेरेर शपथग्रहण गर्ने अवसर नपाए पनि इतिहासमै पहिलोपटक आफू सम्मिलित सरकारले स्वच्छ निर्वाचन गर्न सकेको समेत दाबी गरे ।

‘इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त,’ उनले भनेका छन् ।

बालेनले शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने तय भएको छ ।

शपथ ग्रहणको साइत सो समयमा निस्किएपछि बालेनको समूहले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्तावसमेत गरिसकेको छ ।

बालेनले १२ः३४ मा प्रधानमन्त्रीको शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने तय भएको छ ।

यता बालेनको विरोधमा सामाजिक सञ्जालमा लेखेको भन्दै उनीमाथि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ । उनले पुनः त्यसबारे स्पष्टीकरण दिँदै विचारको प्रतिवाद गर्ने अधिकार सबैमा भए पनि आफू र आफ्नो परिवारलाई समेत जोडेर गाली गर्न नहुने बताएका छन् ।

‘विचारको प्रतिवाद गर्न सक्नु हुन्छ, तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नलाग्नु होला है,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?