मन्त्रालयबाट बिदा भए उद्योगमन्त्री अनिलकुमार सिन्हा

लोकपथ
112
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री अनिलकुमार सिन्हा आजबाट बिदा भएका छन् ।

उनको कार्यकालमा सुशासन, औद्योगिक विकास, व्यापार सहजीकरण र आपूर्ति व्यवस्थापनका क्षेत्रमा दर्जनौँ सुधारका काम अघि बढाइएको थियो ।

मन्त्रालयले ‘तत्काल सुधार कार्ययोजना, २०८२’ कार्यान्वयन गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाएको छ । एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू भई डिजिटल गभर्नेन्सलाई सुदृढ बनाइएको छ भने ई–कमर्स निर्देशिका, २०८२ जारी गरी आधुनिक व्यापार प्रणालीलाई प्रोत्साहन गरिएको छ ।

उद्योग क्षेत्रतर्फ १३ हजार ८ सय ८७ कम्पनी दर्ता हुँदा ७८१ नयाँ उद्योग स्थापना भएका छन् । यी उद्योगमार्फत करिब १३० अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । साथै ६५६ उद्योगबाट २ खर्ब ६१ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जसले २५ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

विदेशी लगानीतर्फ ४७५ परियोजना स्वीकृत भई ३९ अर्ब रुपैयाँभन्दा बढी प्रतिबद्धता आएको छ । डिजिटाइजेसनमा पनि प्रगति भई लाखौं कागजात डिजिटल हस्ताक्षरमार्फत जारी गरिएको छ ।

व्यापार सहजीकरणका लागि नेपाल–भारत पारवहन सन्धि संशोधन, साथै चीन र बंगलादेशसँग उच्चस्तरीय वार्ता सम्पन्न गरिएको छ । आपूर्ति व्यवस्थापनतर्फ खाद्य र पेट्रोलियम सेवाको पहुँच विस्तार गरिनुका साथै इथानोल मिश्रण नीति अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?