बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु, २६ किमि सडक डबल लेनमा विस्तार

लोकपथ
56
Shares

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी खण्डको स्तरोन्नति कार्य सुरु गरिएको छ । 

वर्षातका कारण क्षतिग्रस्त बनेको उक्त सडक सुधारका लागि सडक विभागले अर्थ मन्त्रालयबाट २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सहमति प्राप्त गरेपछि काम अघि बढाइएको हो ।

स्रोत सहमतिपछि सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरेको थियो । १ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लगाएर निर्माण कार्य सुरु गरिएको सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीले जानकारी दिए ।

उनका अनुसार बाह्रबिसेदेखि कोदारीसम्मको करिब २६ किलोमिटर सडकलाई डबल लेनमा स्तरोन्नति गरिनेछ । सोही अनुसार आवश्यक संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । विशेष गरी पहिरो जोखिम भएका क्षेत्रमा ग्याबिन वाल र पक्की संरचना निर्माण भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ७ प्रतिशत पुगेको छ ।

निर्माण कम्पनीका सञ्चालक गौरी उप्रेतीले पनि काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार २०८२ मंसिर १ गते ठेक्का सम्झौता भई मंसिर २० गतेदेखि साइटमा काम सुरु गरिएको हो ।

निर्माण सामग्री आपूर्ति र अन्य व्यवस्थापनमा कुनै अवरोध नआए समयमै सडक स्तरोन्नति सम्पन्न गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?