रसुवा । एम्बुलेन्स प्रयोग गरेर चुरोट तथा लागुऔषध तस्करी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौंतर्फ लैजान लागिएको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बिरामी बोकेको बहाना बनाई काठमाडौंतर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई बेत्रावतीस्थित सुरक्षा चौकीमा जाँच गर्दा तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, आमा छोदिङ्मो–५ चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन् ।
यसैबीच, रसुवागढी नाकाबाट लागुऔषधसहित थप एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ का २४ वर्षीय विकास तामाङलाई केरूङबाट नेपालतर्फ आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट २ ग्राम कालो चरेश तथा विभिन्न रङका १२ क्याप्सुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया