सुदिपा अधिकारी
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो भूराजनीतिक तनाव र इजरायल–अमेरिका तथा इरानबिचको सैन्य द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्ति प्रणालीमा असर पर्न थालेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेको तीन हप्तामा प्रवेश गरेको छ भने तनाव अन्त्य हुने संकेत अझै देखिएको छैन ।
पछिल्लो समय अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढावले एलपीजी ग्यासको मूल्य र आपूर्तिबारे चिन्ता थप बढ्न थालेको छ । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति हुने देश भारतमा समेत यसको अभाव देखिन थालेको छ ।
‘स्ट्रेट अफ हर्मोज’ जस्ता प्रमुख समुद्री मार्गमा देखिएको अवरोधले विश्व इन्धन आपूर्ति अस्थिर हुने जोखिम बढेको छ, किनकि त्यहीँबाट ठुलो हिस्सा ऊर्जा निर्यात र नेपालका लागि आउने इन्धन आयात हुन्छ ।
यसको प्रभाव दक्षिण एसिया हुँदै नेपालमा पनि देखिन थालेको छ, जहाँ उपभोक्ताहरूले खाना पकाउने ग्यासको उपलब्धताबारे चिन्ता व्यक्त गर्न थालेका छन् । नेपाल इन्धनमा पूर्ण रूपमा आयातमा निर्भर रहेका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा हुने उतारचढावले यहाँको आपूर्ति प्रणालीमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।
एलपीजी ग्यास अभावको चर्चा बढेसँगै उपभोक्ताले जगेडा सिलिन्डर राख्न थालेका छन् भने ग्यास डिपो र पसलहरूमा उपभोक्ताका भिड बढेको देखिन्छ । ग्यास आपूर्ति अवरुद्ध हुने डर र पेट्रोलियम आपूर्ति अस्थिरताका कारण धेरै देशका उपभोक्ताले विकल्पका रूपमा इन्डक्सन र इन्फ्रारेड चुलो प्रयोग गर्न थालेका छन् । विश्व बजारमा अहिले यी दुवै चुलोको बजार निकै बढेको छ । केही मुलुकमा त यसको माग दोब्बर बढेको अन्तर्राष्ट्रिय सञ्चारहरूले औँल्याएका छन् ।
ऊर्जा दक्षता, कम ताप उत्सर्जन, सुरक्षित खाना पकाउने प्रविधि र स्मार्ट किचेन प्रविधिका कारण यस्ता चुलोको बजार हिस्सा बढ्ने भएको छ । विद्युतीय चुलोको प्रयोग गर्ने किशोर ढुङ्गाना ग्यासको अभावका कारण विद्युतीय चुलो केही महँगिएको बताउँछन् । धेरै सङ्ख्या भएको परिवारको लागि खाना बनाउँदा ग्यास भन्दा इन्डक्सन नै सस्तो पर्न जाने उनको भनाई छ ।
‘ग्यासको अभावले विद्युतीय चुलो केही महँगिएको छ । तर, ठुलो परिवार भएकाले खाना बनाउँदा ग्यास भन्दा इन्डक्सन नै सस्तो पर्ने रहेछ,’ उनले भने ।
त्यस्तै अर्का उपभोक्ता सन्तोष पोखरेलले ग्यासको अभावका कारण इन्डक्सन प्रयोग गर्न लागेको बताए । उनले सुरुमा किन्दा थोरै महँगो भए पनि यसको प्रयोगबाट विद्युतको खपत भई देशलाई फाइदा हुने भएकाले त्यसका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।
‘ग्यासको अभावका कारण इन्डक्सन प्रयोग गर्न लागेको हो,’ उनले भने ‘किन्दा थोरै महँगो भए पनि यसको प्रयोगबाट विद्युतको खपत हुने हुँदा यसबाट देशलाई फाइदा पुग्छ । त्यस कारण सरकारले यस सन्दर्भमा ध्यान दिनुपर्छ ।’
युद्धपछि किन बढ्यो विद्युतीय चुलोको माग
युद्धपछि तेल र ग्यासको आपूर्ति श्रृङ्खला प्रभावित हुँदा विद्युतीय चुलोको माग तीव्र रूपमा बढेको छ । एलपीजी ग्यासको आपूर्ति घट्ने र मूल्य बढ्ने आशंकाले पनि उपभोक्ताहरू वैकल्पिक रूपमा इन्डक्सन र अन्य विद्युतीय चुलोतर्फ आकर्षित भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतमा पछिल्लो समय इन्डक्सन चुलोको बिक्री निकै बढेको छ, केही ई–कमर्स प्लेटफर्ममा स्टक सकिएको भने खुद्रा बजारमा पनि बिक्री धेरै गुणाले वृद्धि भएको छ ।
इन्डक्सन र इन्फ्रारेड चुलोको सबैभन्दा ठुलो उत्पादक मुलुक चीनमा पनि ग्यासको अभाव हुन थालेपछि यस्ता चुलोको अत्यधिक माग बढेको छ भने जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, थाइल्याण्ड, भियतनाम र इन्डोनेशिया लगायतका मुलुकमा पनि पछिल्लो समयमा विद्युतीय चुलोको मागमा उच्च परिमाणमा वृद्धि भएको छ ।

नेपाली बजारमा इन्डक्सन र इन्फ्रारेडको माग
केही दिन यता नेपालमा पनि इन्डक्सन र इन्फ्रारेडको माग बढेको छ । २०७२ असोजदेखि नेपालमा सुरु भएको अघोषित नाकाबन्दीको समयदेखि विद्युतीय चुलोतर्फ उपभोक्ता आकर्षित भएको देखिन्छ ।
खाना पकाउने ग्यासको अभाव हुँदा उपभोक्ताहरू इन्डक्सन चुलोतर्फ आकर्षित भएका थिए । चीन सरकारले अनुदानमा दिएको इन्डक्सन चुलो साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण गरिएको थियो ।
हाल युद्धको प्रभावले नेपालमा पनि ग्यासको अभाव चर्किएको छ, जसका कारण विक्रेता र उद्योगमा लामो लाइन देखिन थालेको छ ।
यसलाई मध्यनजर गर्दै सरकारले ७ दशमलव १ किलोको आधा सिलिन्डर ग्यास आधा मूल्यमा वितरण गर्न सुरु गरेको छ । नेपालमा समेत ग्यासको अभाव चर्किएपछि मात्र विकल्पको रूपमा अहिले फेरि इन्डक्सन चुलोको प्रयोग बढ्न थालेको देखिन्छ ।
हामी काठमाडौंका विभिन्न इलेकट्रोनिक्स पसलहरूमा पुगी इन्डक्सन चुलाेको माग र मूल्यका सम्बन्धमा कुराकारी गरेका छौँ । उनीहरूले इन्डक्सन चुलोको माग र मूल्य दुवै बढेको बताए । औसतमा इन्डक्सन चुलोको माग ५ सय प्रतिशतभन्दा बढीले बढेको व्यापारीहरूले बताए ।
न्युरोडका इलेकट्रोनिक्स प्रोडक्टका व्यावसायी मनिष कुमार गुप्ताका अनुसार ग्यासको अभावकै कारण भारतमा नै विद्युतीय चुलोको मूल्य बढेकोले नेपालमा पनि मूल्य बढेको छ । पहिले साताको दुई–तीन थान बिक्री हुने गरेकामा अहिले दैनिक १५ थानसम्म बिक्री हुने गरेको उनले बताए ।
उनले भने, ‘भारतमा मूल्य वृद्धि भएपछि आयातमा निर्भर नेपालमा पनि विद्युतीय चुलो महँगिएको हो । ग्यास आपूर्ति अनिश्चित बन्दै जाँदा उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित भइरहेकाले माग बढ्दै गएछ ।’
त्यस्तै अर्का व्यापारी किशोर श्रेष्ठका अनुसार बजारमा ग्यासको अभाव चर्किँदै जाँदा उपभोक्ताले विकल्पको रूपमा विद्युतीय चुलो नै मन पराउने गरेका छन् । ग्यास अभावकै कारण पहिले दैनिक २ थानसम्म बिक्री हुने गरेकामा अहिले १० देखि १५ थानसम्म बिक्री हुने गरेको उनले बताए ।
‘बजारमा ग्यासको अभाव चर्किँदै गर्दा उपभोक्ताले विकल्पको रूपमा विद्युतीय चुलो रोज्दा यसको मागमा तीव्र वृद्धि भएको छ, अहिले कम्तीमा ७५ प्रतिशतले माग बढेको छ’, श्रेष्ठले भने ।
यसरी हेर्दा विद्युतीय चुलोको आयात करमा छुट, भान्सामा प्रयोगको प्रोत्साहन नीति र स्थानीय उत्पादन प्रोत्साहनले नेपाली उपभोक्तालाई पनि यो चुलोप्रति आकर्षित गर्न सक्छ । यसले ग्यास आयातको दर घटाएर व्यापार घाटा कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
इन्डक्सन र इन्फ्राइडमा कुन चुलो राम्रो ?
इन्डक्सन : इन्डक्सन चुलो कम ऊर्जा खपत गर्ने, छिटो खाना पकाउने र सुरक्षित भएकाले उपभोक्ताको प्राथमिक रोजाइमा पर्छ, तर यसमा विशेष भाँडा चाहिने भएकाले थप खर्च लाग्छ ।
इन्फ्रारेड : इन्फ्रारेड चुलो सबै प्रकारका भाँडासँग मिल्छ र मूल्य सस्तो हुँदा सजिलै प्रयोग गर्न सकिन्छ, तर ऊर्जा बढी खपत गर्ने र सतह धेरै तातो हुने कारण उपभोक्ताले त्यति सहजै रोज्दैनन् ।
न्युरोडका व्यापारीहरु उपभोक्ताको रोजाईमा इन्फ्रारेड भन्दा इन्डक्सन नै बढी रहने गरेको छ । कम बिजुली खर्च, सुरक्षित प्रविधि र स्मार्ट नियन्त्रण सुविधा भएकाले उपभोक्ता इन्डक्सनमै बढी आकर्षित हुने गरेका छन् ।
माग बढ्यो मूल्य पनि
इन्डक्सन र इन्फ्रारेड चुलोको माग बढेसँगै नेपाली बजारमा यसको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । एलपीजी ग्यासको विकल्पतर्फ उपभोक्ताको आकर्षण बढ्दा यी उपकरणको मूल्य ह्वात्तै उक्लिएको हो ।
सामान्य इन्डक्सन चुलो ३ हजार ५०० रुपैयाँबाट बढेर करिब ४ हजार ५०० रुपैयाँ पुगेको छ भने मध्यम मोडेलका ७ हजार रुपैयाँबाट बढेर ९ हजार रुपैयाँ र प्रिमियम मोडेलका २० हजार रुपैयाँबाट बढेर २५ हजार रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै इन्फ्रारेड चुलोमा पनि मूल्य वृद्धि भएको देखिएको छ । बेसिक मोडेलको ५ हजार रुपैयाँबाट बढेर ६ हजार ५०० रुपैयाँ, मध्यम मोडेलका ९ हजार रुपैयाँबाट बढेर १२ हजार रुपैयाँ र कमर्शियल मोडेलका ५० हजार रुपैयाँबाट बढेर ७० हजार रुपैयाँसम्म पुगेको छ, जसले बढ्दो मागसँगै बजारमा मूल्यसमेत चर्किँदै गएको देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया