काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरुलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ ।
सचिवालयले बिहीबारदेखि राजनीतिक दलहरुलाई कार्यालय उपलब्ध गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको उनले बताए ।
दलका प्रतिनिधिहरुलाई कार्यलयको प्रत्यक्ष अवलोकन गराइएको जानकारी दिँदै उनले ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ ।
यस्तै अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ ।
सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगर तयारी पनि गरेको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदहरुको शपथग्रहण अगाडी ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष सपथ गराइनेछ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने उनले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन परिणाम सचिवालयमा पठाउने बित्तिकै ज्येष्ठ सदस्यको पहिचान गर्ने उनले बताए । ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणको लागि ३ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने उनले जानकारी दिए । उनकाअनुसार राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ एक सदस्यलाई शपथग्रहण गराए ।
उनले भने, ‘खासगरि आज सचिवालयले ६ वटा दलका प्रतिनिधिहरुसँग छलफल गर्यो । मुलभुत रुपमा ३ वटा विषयमा छलफल भए । पहिलो शपथग्रहण, दोस्रो अभिमुखीकरण कार्यक्रमसम्बन्धी र अर्को संसदीय दलको कार्यालय व्यवस्थापनसम्बन्धी विषयमा छलफल भयो । शपथग्रहण यही चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी गरेका छौँ । सांसदहरुको शपथग्रहण अगाडी ज्येष्ठ सदस्य पहिचान गर्नुपर्ने हुन्छ, ज्येष्ठ सदस्यलाई सम्माननीय राष्ट्रपतिज्यूसँग शपथग्रहण गर्नुपर्ने हुन्छ । र उहाँले सभाका सदस्यहरुलाई शपथ गराउनुहुन्छ । त्यो विषयमा हामीले गरेका गृहकार्यका बारेमा उहाँहरुलाई जानकारी गराएका छौँ, उहाँहरुको धारणा पनि हामीले सुन्यौँ । निर्वाचन आयोगले आज मतपरिणाम गरेको अवस्थमा शपथ १२ गते गर्ने भन्ने टुंगो लागेको छ । अर्को विषय अभिमुखिकरण तालिम कार्यक्रम हो । यसमा कस्ता विषयहरु समावेश गर्ने भन्ने छलफल भयो । उहाँहरुको सल्लाह सुझाव बमोजिम सचिवालयले अभिमुखिकरण कार्यक्रम आयोजना गर्छ । सैद्धान्तिक पक्षभन्दा पनि व्यवहारिक पक्षलाई केन्द्रित गरेर अभिमुखीकरण तालिममा जान जरुरी छ भन्ने उहाँहरको कुरा छ । अर्को संसदीय दलको कार्यालय व्यवस्थापन गर्न अहिले अलि चुनौतिपूर्ण देखिएको छ । यसमा सचिवालयले जे जस्तो उपलब्धता छ, त्यसैभित्र रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । संसदीय दलको व्यवस्थापनमा खटिने साथीहरुलाई उक्त बैठकमा नै बोलाएर उहाँहरुलाई संम्बन्धित संसदीय दलको कार्यलय देखाउने र केही सुधारहरु गर्नुपर्ने भएमा सुधार गर्नेगरी अगाडी बढाईएको छ । उहाँरुलाई आजबाट संघीय संसद सचिवालयले संसदीय दलको कार्यलय उपलब्ध गराएको छ । संख्या अनुसार संसदीय दलको कार्यलय व्यवस्थापन गरेका छौँ । ठूलो दलको लागी अहिले पहिलाको नेकपाको दलको कार्यलयमा व्यवस्थापन गरिएको छ । संसदमा उहाँहरुको प्रतिनिधित्वको आधारमा कार्यालय व्यवस्थापन गरिएको हो ।’
सचिवालयले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनितिक दलहरुसंग शपथग्रहण, कार्यलय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमका बारेमा छलफल गरेको थियो । छलफलमा सांसदहरुको अभिमुखीकरण कार्यक्रमबारमा पनि दलहरूसँग सुझाव लिएको उनले जानकारी दिए । उनकाअनुसार सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित तालिम आवश्यक रहेको दलहरुले सुझाव दिएका छन् ।
सचिवालयले ती सुझावका आधारमा कार्यक्रमको स्वरूप तय गर्ने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया