पहिलोपटक बन्दै छ धारा ७६ (१) को सुविधाजनक बहुमतको सरकार

लोकपथ
112
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन आज रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाइएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा प्रवेश गर्ने भएको छ ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित (प्रत्यक्ष) प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत हासिल गरेको छ । रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।

अन्य दलहरूमा नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट २५, नेपाल कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट सात, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाँच तथा एक स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

नेपालको संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । रास्वपाले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा सहभागिता जनाएको थियो र उनलाई संसदीय दलको नेताका रूपमा चयन गर्ने तयारी गरेको छ ।

संवैधानिक व्यवस्था अनुसार सांसदको शपथपछि संसदीय दलको नेता चयन हुनेछ र त्यसपछि बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गरिनेछ । संवैधानिक कानुनविद् खिमलाल देवकोटाका अनुसार एकल बहुमत प्राप्त दलको नेताले धारा ७६(१) अनुसार सरकार गठन गर्नेछन् ।

सङ्घीय संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । शपथपछि संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ र सात दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।

संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। आगामी संसद् बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमा बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?