ग्लोबल भ्याकेसनका नाममा बानेश्वरको श्रीटेल ट्राभलले ठग्यो झन्डै ३ करोड

हैदरावाद घर भएका ६ भारतीयसहित ७ जना पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । सस्तोमा विश्वभरका देश घुमाइदिने भनी रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले ६ भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बानेश्वरस्थित एक ट्राभलमा छापा मारी बुधबार ७ जनालाई पक्राउ गरिएको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार बानेश्वर, थापागाउँमा रहेको श्रीटेल होलिडेज नामक ट्राभल एजेन्सीमा छापा मारेर ६ जना भारतीय नागरिकसहितलाई नियन्त्रणमा लिएको हो । उनीहरूले विश्वका जुनसुकै देशमा पठाइदिने भन्दै एडभान्समा रकम लिएर नपठाई ठगी गरेको उजुरी आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

कार्यालयका अनुसार हालसम्म ३ सय जनाभन्दा बढी व्यक्तिहरूबाट ट्राभल एजेन्सीले २ करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम उठाएको पाइएको छ । पीडितहरूको संख्या अझै थप हुनसक्ने प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयमा पीडितहरूले उजुरी गरेपछि प्राप्त प्रमाणमा आधार प्रहरीले भारत हैदरावादमा ६ जना भारतीय नागरिक र एक नेपालीलाई समेत पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा भारतको हैदरावाद, तेलंगाना घर भएका सायद मजिद, साजिद कुमार, मोहम्मद इमरान, मोहम्मद रज्जक, खालिद हुसैन र ए यादागिरी रहेका छन् । उनीहरूले सँगै कञ्चनरुप नगरपालिका १२, सप्तरीका विवेक रेग्मीसमेत पक्राउ परेका छन् । 

कसरी भयो ठगी ?

काठमाडौंको बानेश्वर, थापागाउँमा श्रीटेल होलिडेज नाम गरेको कम्पनी नै स्थापना गरेर उनीहरूले ठगी गरेको पाइएको छ । उनीहरूले झन्डै ३० जना कर्मचारी राखेर कार्यालय खोलेको र त्यही कार्यालयमा कल सेन्टर जस्तै बनाएर महिला कर्मचारीहरूलाई विभिन्न व्यक्तिलाई फोन गर्न लगाई ट्राभल प्याकेजबारे जानकारी दिने गरिएको थियो । विश्वका १७३ देशमा भ्रमण गर्न पाइने भन्दै सस्तो मूल्यमा प्याकेज रहेको देखाएर एडभान्स बुकिङ गर्न लगाउने गरिएको पाइएको छ । त्यसरी प्याकेज बुकिङ गरेकाहरूले टुरमा पठाउन आग्रह गर्दा आनाकानी गर्ने र टुरमै नपठाउने गरिएको पाइएको छ । 

पीडितहरूले टुरमा नपठाउने हो भने रकम फिर्ता गर भन्दा टिकट बुकिङ भइसकेकोले टुर क्यान्सिल गर्दा शुल्क लाग्नेलगायतका बहाना बनाएर रकम फिर्ता नै नदिने र फिर्ता दिएमा पनि थोरै रकम मात्रै दिने गरिएको पाइएको कार्यालयका एक प्रहरी अधिकारीले लोकपथलाई बताए ।

प्रहरीले हालसम्म आफूहरूको सम्पर्कमा करिब ३ सय जना पीडित रहेको र त्यो संख्या अझै बढ्न सक्ने बताएको छ । हालसम्मको जानकारीमा ट्राभलले २ करोड, ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको पाइएको छ । 

गत मंसिरमा मात्रै खुलेको थियो कम्पनी  

ग्लोबल भ्याकेसनका लागि सस्तोमा प्याकेज उपलब्ध गराउने भन्दै खुलेको श्रीटेल कम्पनी एक नेपाली नागरिकका नाममा दर्ता रहेको छ । गत मंसिर महिनामा मात्रै दर्ता भएको कम्पनीले त्यस लगत्तै रकम उठाउन थालेको पाइएको छ । 

नेपालीका नाममा कम्पनी स्थापना गरिएको भए पनि यो कम्पनी भने हैदरावादका भारतीय नागरिकहरूले नै चलाउने गरेका थिए । उनीहरूको उद्देश्य नै रकम उठाएर ठगी गरेर भाग्ने हुनसक्ने प्रहरीको अनुमान छ । 

२४ कर्मचारी छुटे

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुल ३१ जनालाई नियन्त्रणमा लिएकामा विशुद्ध तलबी कर्मचारी रहेका २४ जनालाई भने सोधपुछपछि छाडिएको छ । प्रहरीले बोलाएको समयमा उपस्थित हुने गरी २४ जनालाई सोधपुछ गरेर छाडिए पनि ट्राभलमा मुख्य भूमिकामा रहेका ६ जना भारतीय नागरिक र एक नेपाली नागरिकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?