सिंह र पालसहित सशस्त्रका चारै जना डीआईजीको म्याद थप, जिल्लिए सिसं १ बेसिकका श्रेष्ठ र पोखरेल

लोकपथ
2k
Shares

काठमाडौं । सरकारले सशस्त्र प्रहरीको साधारण समूह साधारण उपसमूहका दुई र प्राविधिक समूहका दुई जना गरी चार जना नायव महानिरीक्षक (डीआईजी)को पदावधि थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको म्याद थप गरेको हो । म्याद थप भएसँगै उनीहरू दुवै जना अब अतिरिक्त महानिरीक्षक (एआईजी) को दाबेदार बनेका छन् ।

स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठकले साधारण समूह साधारण उपसमूहका दुई डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल, प्राविधिक समूह स्वास्थ्यतर्फका डीआईजी डा. रूपक महर्जन र प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका डीआईजी ई. सन्दीप थापाको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको हो । 

यसअघि प्राविधिक समूह स्वास्थ्यतर्फका डीआईजी डा. महर्जन र प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका डीआईजी ई. थापाको मात्रै एक वर्ष म्याद थप भएको समाचार बाहिरिएको थियो । 

साधारण समूह साधारण उपसमूहका डीआईजी सिंहले मन्त्रिपरिषद् बैठकले आफूहरूको पनि म्याद थप गरेको बताए । ‘हो, हामीहरू दुवै जना (सिंह र पाल) को पनि म्याद थप भयो,’ उनले भने । 

सिंह अहिले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र प्रदीप पाल कार्य विभागमा कार्यरत छन् । सिंह र पाल दुवै जना नेपाल प्रहरीको प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । 

यी चारै जना डीआईजी २०७८ साल चैत ६ गते डीआईजीमा बढुवा भएका थिए । बढुवा समितिले २०७८ साल फागुन २७ गते उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । उनीहरू चारै जनाको चार बर्से पदावधि यही चैत ५ गते सकिँदै थियो । 

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजी÷डीआईजीको पदावधि चार वर्षको रहेको छ । तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ । सोहीअनुसार मन्त्रिपरिषद् बैठकले उनीहरूको एक वर्ष म्याद थप गरेको हो ।

चैत ५ गतेसम्म पनि म्याद थप नभएको भए उनीहरू डीआईजीबाटै घर जाने थिए । 

उनीहरूको म्याद नथप्न सशस्त्र प्रहरीको सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दुई डीआईजी सुरेशकुमार श्रेष्ठ र अन्जनीकुमार पोखरेल लागिपरेको स्रोतको दाबी छ । आफ्नो समूहका दुई डीआईजी सिंह र पालको म्याथ थपे आफूहरूको वृत्तिविकासमा गम्भीर असर पर्ने भन्दै उनीहरूले लबिङ तीव्र पारेका थिए । 

सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीद्वय श्रेष्ठ र पोखरेल एक वर्षअघि चार डीआईजीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष म्याद नथप्न पनि चर्को रूपमा लागेका थिए । उनीहरूको दबाबका कारण यी चार डीआईजीको म्याद नथपेर बसेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अवकाशमा जान तीन घण्टाअघि मात्रै म्याद थपिदिएको थियो । 

त्यसबेला म्याद थप भएका चार जनामध्ये अहिले ठाडामगर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसकेका छन् भने तीन जना म्याद थपको एक वर्ष पूरा गरेर पनि अवकाशमा गइसकेका छन् । 

गत बैशाख २ गते तत्कालीन एआईजी चन्द्रप्रकाश गौतम ३० बर्से सेवा अवधि पूरा गरेर अवकाशमा गएपछि एआईजीको रिक्त एक पदमा पनि डीआईजीद्वय श्रेष्ठ र पोखरेलले दाबी गरेका थिए । आफूहरूभन्दा ‘सिनियर’ हुँदाहुँदै फारम भरेर लबिङमा लागेपछि ठाडामगरले बोलाएरै उनीहरूको झाँको झारेका थिए । 

यो पनि…

प्रवीणकुमार श्रेष्ठकै बाटोमा सशस्त्रका चार जना डीआईजीहरु, पदावधि नथपिने संकेत

तनावमा सशस्त्रका चार डीआईजी 

सशस्त्रमा ‘सिनियर’ डीआईजीको म्याद नथप्न ‘जुनियर’हरू नै चलखेलमा, लिए ‘मानमर्दन’ को सहारा

कसको आँखा लाग्यो सशस्त्रका यी दुई डीआईजीलाई ?



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?