२०६४ देखि लगातार जित्दै आएका जनार्दन शर्मा अहिले रुकुम पश्चिममा कति सुरक्षित ?

फरक राजनीतिक पृष्ठभूमिबाट उम्मेदवारी दिएकाले चुनावी समीकरणलाई नयाँ मोडमा पुर्‍याएको विश्लेषण

लोकपथ
266
Shares

काठमाडौं । रुकुम पश्चिमको प्रतिनिधिसभा निर्वाचनमा यसपटक पनि जनार्दन शर्मा उम्मेदवार छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका शर्मा यो पटक पनि मैदानमा उत्रिएका छन् । फरक यो छ कि उनले विगतमा जुन पार्टीबाट निर्वाचन जितेका थिए, त्यो दलमा उनी अहिले आबद्ध छैनन् । त्यसैले पनि अहिले रुकुम पश्चिम विशेष चासो र चर्चाको केन्द्रमा छ । 

लामो समय माओवादी धारबाट राजनीति गर्दै आएका शर्माले अहिले फरक राजनीतिक पृष्ठभूमिबाट उम्मेदवारी दिएका छन् । त्यसैले पनि यो जिल्ला विशेष चासो र चर्चाको केन्द्रमा रहेको हो । शर्माले फरक राजनीतिक पृष्ठभूमिबाट उम्मेदवारी दिएका कारण रुकुम पश्चिमको चुनावी समीकरणलाई नयाँ मोडमा पु¥याएको विश्लेषण भइरहेको छ । 

२०७९ को निर्वाचनतर्फ फर्किऊँ । त्यसबेला माओवादी केन्द्रबाट निर्वाचन लडेका शर्माको निकटतम प्रतिद्वन्द्वी थिए एमालेका उम्मेदवार । २०७९ को निर्वाचनमा शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गरेका थिए । अहिले उनै देवकोटा शर्माका चुनावी कमान्डर छन् । एमालेले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै त्यहाँ शर्मालाई समर्थन गरेको छ । एमालेको साथ र आफ्नो परम्परागत जनमतको आधारमा शर्मा विजयप्रति विश्वस्त देखिन्छन् । 

२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार शर्मालाई नेपाली कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेको थियो । तर यो निर्वाचनमा उनको विगतको दलको आफ्नै उम्मेदवार छ । कांग्रेसले पनि आफ्नो उम्मेदवारी दिएको छ । तर, त्यसबेलाको प्रमुख प्रतिद्वन्द्वी दल एमाले र त्यसका उम्मेदवार नै आफ्नो पक्षमा उभिएकाले उनले कुनै ‘दबाब’ महसुस गरेका छैनन् । 

यसको कारण यो पनि हो कि, एमालेले २०७९ सालमा समानुपातिकतर्फ ८ हजार ७ सय ६९ मत पाएका थियो । कांग्रेसले ८ हजार ७ सय ६६ मत पाउँदा रास्वपाले २ हजार मत पनि पाएको थिएन । फरक दलबाट उठेपनि एमालेको मत पाउँदा आफूले सहजै जित्ने उनको विश्लेषण छ । 

शर्मा एउटा यस्ता उम्मेदवार हुन्, जो २०६४ सालको निर्वाचनपछि लगातार जित्ने सीमित व्यक्तिमा पर्छन् । विगतमा गृह, अर्थ, ऊर्जा तथा जलस्रोत, शान्ति तथा पुनर्निर्माणमन्त्री जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनी पूर्वमाओवादी पृष्ठभूमिबाट निरन्तर चुनाव जित्ने सीमित नेतामध्येमै पर्दछन् । माओवादी युद्धकालमा जनमुक्ति सेनाको डेपुटी कमान्डरदेखि पार्टीको उपमहासचिवसम्मको जिम्मेवारी बहन गरेका शर्माले अन्य जिल्लामा जनमत कमजोर बन्दै जाँदा पनि रुकुमपश्चिममा आफ्नो प्रभाव कायमै राखेको उनले प्राप्त गरेको मतले देखाउँछ । 

शर्माले २०६४ मा २२ हजार ५ सय ७५, २०७० मा ३० हजार २ सय ७०, २०७४ मा ३४ हजार ४ सय २ र २०७९ मा ३९ हजार ५ सय ४९ मत प्राप्त गरेका थिए । यो तथ्यांक विश्लेषण गर्दा प्रत्येक निर्वाचनमा उनको मत पनि बढ्दै गएको देखिन्छ । मत मात्रै होइन मतान्तर पनि बढ्दै गएको तथ्यांकले देखाउँछ । 

माओवादी केन्द्रले एकीकृत समाजवादीलगायत दलसँग गरेको एकताप्रति असहमति जनाउँदै शर्मा पार्टीबाट अलग भएका थिए । त्यसपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरे । त्यसको नेतृत्व उनले लिएनन् । चाहेको भए उनले सो पार्टीको नेतृत्व लिन सक्थे । तर उनी संरक्षकको भूमिकामा बसे । विगतमा ‘हँसिया–हथौडा’ बाट निर्वाचन जितेका उनी अहिले ‘आँखा’ चुनाव चिन्ह लिएर मैदानमा छन् । त्यसो त उनी माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भएको भएपनि उनको निर्वाचन चिन्ह यो पटक फेरिन्थ्यो नै, किनभने उनको विगतको पार्टी माओवादी केन्द्र स्वयंले यो चिन्ह छाडिसकेको छ । अहिले एकीकृत पार्टीको चुनाव चिन्ह ‘तारा’ छ । उनको विगतको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जो अहिले नेपाली कम्युनिस्ट पार्टीको संयोजक छन्, उनी आफै पनि अहिले तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । 

आफू सधैँ रुकुमको साझा उम्मेदवारको रूपमा रहेको र राजनीतिक आस्थाका आधारमा कहिल्यै विभेद नगरेको शर्मा दाबी गर्छन् । ‘चुनाव जितेपछि म सबैको प्रतिनिधि हुँ,’ उनी भन्छन्, ‘विपक्षी दलका कार्यकर्ताले समेत ‘हामीलाई अभिभावक चाहियो’ भन्दै फोन गरेर ढाडस दिएका छन् ।’

कोरोना महामारीका बेला काठमाडौंबाट आएर आफै अस्पताल निर्माणका साथै भूकम्पको समयमा तत्काल उद्धार तथा पुनर्निर्माणमा खटिएको स्मरण गराउँदै उनले अझै पुनर्निर्माणका थुप्रै काम बाँकी रहेको बताए । 

अहिले उनको मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का गोपाल शर्मा र कांग्रेसका राजु केसी उभिएका छन् । गोपाल पूर्वमाओवादी पृष्ठभूमिकै नेता हुन् । माओवादी केन्द्रको जिल्ला संयोजकदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका उनले कर्णाली प्रदेश सरकारमा आर्थिक मामिलामन्त्रीको रूपमा पनि काम गरिसकेका छन् । अघिल्ला निर्वाचनहरू उनी जनार्दनको निकट सहयोगी भएर काम गरेका थिए । 

रुकुम पश्चिममा यसपटक १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये चार जना माओवादी मूलका छन् । रोचक के छ भने यसपटक चारै जना उम्मेदवारले हँसिया–हथौडा चिन्हभन्दा फरक चिन्ह लिएर चुनावी मैदान तताएका छन् । 

कांग्रेस उम्मेदवार राजु केसी नेविसंघको राजनीतिबाट उदाएका हुन् । पार्टीको जनसम्पर्क समन्वय समिति केन्द्रीय विभागमा क्रियाशील उनी व्यवसायीसमेत हुन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र आत्मनिर्भर रुकुम निर्माणलाई आफ्नो एजेन्डा बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मानबहादुर शाही प्रतिस्पर्धामा छन् । नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै उनले वैकल्पिक राजनीति र सुशासनलाई आफ्नो मूल मुद्दा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?