काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदातालाई आफ्नो भोटको शक्ति बुझेर मतदानअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् ।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भोटलाई शक्ति हस्तान्तरणको माध्यम भएको उल्लेख गर्दै कसलाई आफ्नो शक्ति सुम्पिँदैछु भन्ने विषयमा हजारचोटि विचार गर्नुपर्ने बताए ।
लिङदेनले विगतमा मतदाताहरू झुटा आश्वासन, पेट्रोल, नगद, माछामासु वा मादक पदार्थजस्ता प्रलोभनमा परेर मतदान गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे । सत्तामा रहेका दलहरूले नयाँ समझदारी नगरे र विगतका गल्ती नसच्याए देश दुर्घटनातर्फ जान सक्ने उनको चेतावनी थियो ।
उनले राजा, राजनीतिक दल र युवा पुस्ताबिच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको औँल्याउँदै निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने धारणा राखे । निर्वाचन केही महिना पर सारेर भए पनि सहमतिका साथ अघि बढ्नुपर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।
अध्यक्ष लिङदेनले राप्रपालाई संसदमा बलियो शक्ति बनाउन मतदातासँग सहयोग माग्दै पार्टीसँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गरे । भ्रष्टाचारमुक्त ढंगले काम गर्न सके ५–६ वर्षमै देशको मुहार फेर्न सकिने उनको विश्वास छ ।
आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणको छानबिनमा आफ्नो भूमिका रहेको स्मरण गराए ।
उनले कांग्रेस, एमाले र माओवादी समर्थकहरूलाई समेत प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राप्रपाको चुनाव चिन्ह ‘हलो’मा मतदान गर्न अपिल गर्दै देश बचाउने अभियानमा सहभागी हुन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया