काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै देश र जनताको पक्षमा उभिँदा आफू चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताएका छन् ।
ओलीले झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कमिसनको खेलमा नलागेको र भविष्यमा पनि नलाग्ने स्पष्ट पारे । देशको विकास, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको उनको भनाइ थियो ।
उनले आफ्नो नेतृत्वमा मिचिएको भू–भाग फिर्ता ल्याउने पहल, उत्तरतर्फका नाका खोल्ने तथा दक्षिणमा हुलाकी राजमार्ग निर्माणमार्फत मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराए । देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको उल्लेख गर्दै असफल भइसकेकालाई देश चलाउने जिम्मा दिन नसकिने टिप्पणी गरे ।
अध्यक्ष ओलीले एमाले मात्रै देशको रक्षा गर्न सक्ने पार्टी भएको दाबी गर्दै पार्टी रहुन्जेल देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतामा आँच नआउने विश्वास व्यक्त गरे । ‘देशको एक–एक इन्च भूमिको रक्षा गरिनेछ,‘भन्दै उनले एमाले कुनै कायर पार्टी नभएको र राणा शासनदेखि संघर्ष गर्दै यहाँसम्म आइपुगेको बताए ।
देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तीव्रता दिन एमालेले अघि बढाएको अभियानलाई बिना अवरोध निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिए । साथै, हजारौँ वर्षदेखि विकसित संस्कृति र संस्कारको संरक्षण गर्दै समाजमा रहेका विकृति र पुरातन बेथितिहरू हटाउँदै जानुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया