काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल ले आगामी निर्वाचनलाई समाजवादी क्रान्तिको कार्यनीतिक अभियानको रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले नेकपाको लक्ष्य वैज्ञानिक समाजवाद रहेको बताए ।
उनले पार्टीका उम्मेदवारलाई १ सय ६५ निर्वाचन क्षेत्रमा विजयी गराएर क्रान्तिकारी सरकार गठन गर्नुपर्नेमा जोड दिए ।
बहुमत नआए पनि प्रगतिशील, देशभक्त र समाजवादी शक्तिसँग मिलेर सरकार बनाउने, तर प्रतिक्रियावादीसँग कहिल्यै साँठगाँठ नगर्ने प्रतिवद्धता जनाउन उनले आह्वान गरे ।
खनालले देश गम्भीर संकटमा रहेको उल्लेख गर्दै विदेशी हस्तक्षेपको रूपमा अमेरिकाको टोलीले होटल म्यारियटमा उत्तरी क्षेत्रका उम्मेदवारसँग भेट गरेको घटनालाई प्रश्न उठाए । उनले ६२र६३ को जनआन्दोलनलाई पुँजीवादी जनवादी क्रान्ति भएको भन्दै २० वर्षपछि पनि राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय संकट कायम रहेको बताए ।
उनले भने, ‘अब चुनाव हाम्रो कार्यनीतिक कार्यभार हो। आम जनतामा पार्टीको नीति, कार्यक्रम र समाजवादको महत्व बुझाउन, क्रान्तिकारी जनमत निर्माण गर्न र संगठन विस्तार गर्न चुनावी अभियान अवसर हो ।’
खनालले समाजवादका लागि क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति (आधुनिकीकरण र यान्त्रिकीकरण), राष्ट्रिय औद्योगिकीकरण, शिक्षा–स्वास्थ्य सुधार, उत्तरी नाका खोल्ने तथा भ्रष्टाचार र बेरोजगारी अन्त्य आवश्यक रहेको बताए ।
उनले निर्वाचनलाई जनमत निर्माण, संगठन विस्तार र क्रान्तिकारी बाटो मजबुत बनाउने अवसरको रूपमा उपयोग गर्न पार्टी कार्यकर्तालाई आह्वान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया