जनतासँग डर छैन, जीत सुनिश्चित छ : मीनबहादुर शाही

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सरकार शान्ति–सुरक्षाको भरपर्दो वातावरण बनाउन असफल भएको र निर्वाचन नजिकिँदै जाँदा भय र त्रास बढ्दै गएको दाबी गरे । 

उनका अनुसार रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु, हजारौँ कैदी बन्दी तथा लुटिएका हातहतियार बाहिरै रहनुजस्ता घटनाले अवाञ्छित गतिविधि बढ्ने जोखिम देखिएको छ ।

रास्वपामाथि चुनाव भाँड्न खोजेको आरोप

शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्न खोजेको आरोप लगाए । एमालेका प्रमुख नेताहरू उम्मेदवार रहेका क्षेत्रमा झण्डा जलाउने, नेतृत्वप्रति घृणा फैलाउने र ‘फेक’ सर्वेक्षणमार्फत जनमत प्रभावित पार्ने काम भइरहेको उनको दाबी छ ।

आचारसंहिता उल्लंघन र निर्वाचन आयोगप्रति प्रश्न

निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा निर्वाचन आयोग उदासीन देखिएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ । होली पर्वको अवसर पारेर तराई–मधेसका जिल्लामा रास्वपाका नेताहरूको तस्बिर अंकित टिसर्ट वितरण गरिएको आरोप लगाउँदै शाहीले यसलाई चाडपर्वको दुरुपयोग भएको बताए ।

उम्मेदवार र नेतामाथि आक्रमण

एमालेले उम्मेदवार र नेतामाथि भौतिक तथा मानसिक आक्रमण भइरहेको जनाएको छ । बारामा उम्मेदवार ज्वालाकुमारी साहको प्रचार सामग्री तोडफोड र दाङ–२ मा महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रमा झण्डा जलाउने घटना भएको शाहीको भनाइ छ । यस्ता गतिविधि रोक्न र उम्मेदवारको सुरक्षा सुनिश्चित गर्न उनले सरकारसँग माग गरे ।

‘देश बनाउने र जलाउने’ बिचको जनमत संग्रह

शाहीले फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिहरू’ बिचको जनमत संग्रहका रूपमा एमालेले लिएको बताए । जस्तोसुकै षड्यन्त्र भए पनि एमाले सर्वाधिक लोकप्रिय र पहिलो पार्टी बन्ने दाबी गर्दै उनले फागुन २१ पछि पार्टी अध्यक्ष केपी शर्मा ओली को नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा मुलुक अघि बढ्ने बताए ।

बहुमतको दाबी र संगठनात्मक आत्मविश्वास

एमालेले आगामी निर्वाचनमा बहुमतसहित सरकार बनाउने दाबी  दोहोर्‍याएको छ । शाहीका अनुसार अहिले देशभर साढे १४ देखि १५ लाख नेता–कार्यकर्ता सक्रिय छन् र ताप्लेजुङदेखि कञ्चनपुरसम्म घरदैलो अभियान चलिरहेको छ ।

पार्टी परित्यागको चर्चालाई उनले ‘भ्रम’ मात्र भएको भन्दै खारेज गरे । एमाले बहुलवादसहितको लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएको स्पष्ट पार्दै शाहीले सम्पूर्ण पत्रकार र नागरिक समाजलाई स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनका लागि भूमिका खेल्न अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?