रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, जिम्मेवार व्यक्तिलाई छानौँ’

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई विचार–विश्लेषण गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चटकदार अनुहार वा आकर्षक नारा होइन, देश र समाज बुझ्ने जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न आग्रह गरे ।

नेताहरूले देश अहिले गम्भीर अवस्थामा रहेकोले सामाजिक सञ्जालको भ्रममा नपरी विवेकपूर्ण निर्णय गर्न अपिल गरे । वागमती प्रदेशका पूर्व उपसभापति दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देश–समाज बुझाइलाई प्राथमिकता दिन आग्रह गरे । उनले मतदातालाई चुपचाप नभई अध्ययन गरेर मतदान गर्न सुझाव दिए र स्थायी सरकार निर्माणमा योगदान पुर्‍याउने निर्णय लिन जोड दिए ।

हुमागाईंले पार्टीले आफ्नो सिद्धान्त र नेतृत्वमा जवाफदेहिता नदेखाएको आरोप लगाउँदै आफू पार्टी छाड्न बाध्य भएको बताए । उनले भने, ‘फागुन २१ मा चटकदार अनुहारलाई मत दिनु होइन, देश र समाज बुझ्ने व्यक्ति र पार्टीलाई रोज्नुहोस्। दुई–चार दिन सोचेर पनि मतदान गर्न सकिन्छ, तर देशले निकास पाउनु पर्छ, स्थायी सरकार बन्नुपर्छ ।’

रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वले आन्तरिक लोकतन्त्र र पारदर्शिता कमजोर बनाएको आरोप लगाए । उनले पार्टी स्थापना गरेको मूल नाराको विपरीत वर्तमान अवस्था रहेको भन्दै संगठनात्मक निर्णयहरूमा सदस्यहरूलाई धोका दिइएको बताए ।

मधेस प्रदेशकी पूर्व रास्वपा सभापति ममता शर्माले पनि पार्टीभित्र अपारदर्शिता बढेको र बाहिर पारदर्शिताको कुरा गरिएपनि वास्तविक काम उल्टो देखिएको आरोप लगाइन् । उनले पार्टीले झुक्याउने काम मात्रै गर्दै आएको बताइन् र यस कारण दैनिक रूपमा सदस्यहरू पार्टी छोड्दै गएको जानकारी दिइन् ।

प्रणय र ममता अहिले नेपाली कांग्रेसमा प्रवेश भइसकेका छन् भने दिनेश हुमागाईं हालसम्म कुनै पार्टीमा प्रवेश गर्नुभएको छैन । यी नेताहरूले मतदातालाई भावनात्मक लहर वा आकर्षक नारा भन्दा दीर्घकालीन स्थायित्व, नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई आधार मानेर निर्णय लिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?