काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मुलुकमा हुन लागेको निर्वाचन अपरिहार्य भएको बताएका छन् ।
उनले यो निर्वाचन नेपाली जनताको चाहनाअनुसार नभई संवैधानिक र लोकतान्त्रिक प्रक्रियाका असाधारण परिस्थितिका भएको बताए ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकले सामना गरेको विध्वंसकारी घटनाबाट शिक्षा लिनुपर्ने आवश्यकता औँल्याए । उनले राजनीतिक दलहरूको नालायकीलाई उजागर नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने मात्र काम गरेको बताए ।
भुसालले प्रमुख नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका राजनीतिक तथा आर्थिक नीतिहरूलाई नालायकीको संज्ञा दिँदै आलोचना गरे । उनका अनुसार यस्ता नालायकीहरूले मुलुकलाई संकटमा पुर्याएका छन् र भविष्यमा दोहोरिन नदिन राष्ट्रिय संकल्प आवश्यक छ।
भुसालले भने, ‘यो हामीले नचाहेको निर्वाचन हो‘ तर यो अपरिहार्य छ । असाध्यै ठुलो विध्वंशबाट मुलुकले रणनीतिक शिक्षा लिन सक्थ्यो । राजनीतिक दलहरूको घोर नालायकीका कारण जुन विध्वंश मच्चियो, त्यो हाम्रो सार्वभौमसत्ता माथिको आक्रमण थियो । अब यसलाई कार्पेटमुनि हालेर निर्वाचनमा जान खोजिँदैछ ।’
उनले राजनीतिलाई घरेलुकरण गर्न, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए । भुसालले मुलुकको मुख्य समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र बिचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई निकासका उपाय खोज्न आह्वान गरे ।
उनले निर्वाचन सौभाग्यको अवसर भए तापनि यसले मात्र संकटको निकास नदिने र गहिरो पुनर्विचार आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया