काठमाडौं। संविधान एवं प्रशासनविद् काशीराज दाहालले राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयन नगरेको अवस्थामा घोषणापत्रमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुनेमा जनताले शंका गर्नु स्वाभाविक भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा’ सम्बन्धी संवाद कार्यक्रममा दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण दल र सरकारको प्राथमिकता हुनुपर्ने उल्लेख गरे ।
दाहालका अनुसार, संविधान निर्माणको दशक बितिसक्दा पनि आवश्यक कानुनहरू अहिलेसम्म पूर्ण रूपमा बनेका छैनन् । संविधान प्रवर्द्धन र सूक्ष्म अध्ययन नगर्दा संविधान कार्यान्वयनमा समस्या देखिएको बताउँदै उनले राजनीतिक दलहरूले समयमै स्पष्ट योजना ल्याएको भए हाल घोषणा पत्रमार्फत प्रतिबद्धता दोहोर्याउनुपर्ने अवस्था नआउने बताए ।
दाहालले भने, ‘यदि संविधानमा लेखिएका प्रावधानहरू लागू गर्न सकिएन भने घोषणा पत्रमा लेखिएका कुरा कति लागू होला ? पुराना दलहरूले विगतमा सुशासन कायम गर्न नसकेको कारण जनतालाई स्पष्ट पार्नुपर्छ।’
उनले राजनीतिक दलहरूले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया