सुनसरी–३ का रास्वपा उम्मेदवारले मतदातालाई धम्की दिएपछि रास्वपाविरुद्ध नाराबाजी, कार्यक्रमस्थलमा तनाव 

लोकपथ
420
Shares

काठमाडौं । इटहरी जेसीजले सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवारहरूबीच बिहीबार आयोजना गरेको ‘ककस’ (संवाद) कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अशोक चौधरीको अभिव्यक्तिका कारण तनावग्रस्त बन्न पुगेको छ । 

सुनसरी–३ का रास्वपा उम्मेदवार अशोक चौधरीले आफ्नो मन्तव्यका क्रममा मतदाताको चाहना र अन्य दलका उम्मेदवारको अस्तित्व स्वीकार नगरी दिएको विवादित अभिव्यक्तिका कारण कार्यक्रमस्थलमा तनाव उत्पन्न भएको हो । ‘गैरजिम्मेवार’ अभिव्यक्तिका कारण कार्यक्रमस्थलमा उनको आलोचना मात्रै भएन, भीडबाट जोगाउन प्रहरीलाई नै हम्मेहम्मे पर्न गयो । र, प्रहरीले सुरक्षा दिएर उनलाई कार्यक्रमस्थल बाहिर निकाल्नु परेको थियो ।

नेपाली कांग्रेसका राजीव कोइराला, नेकपा (एमाले) का सुजन लामा, नेकपाकी रामकुमारी चौधरीलगायतका उम्मेदवार उपस्थित सो कार्यक्रममा उनले रास्वपाको चुनाव चिन्ह घण्टीमा भोट नहाल्नेहरू राष्ट्रघाती भएको बताएका थिए । उनले देशको निकासका लागि रास्वपालाई दुई तिहाइ बहुमत दिनुपर्ने तर्क राख्दै मतदान नगर्नेलाई देशविरोधीको संज्ञा पनि दिएका थिए ।

उनले भनेका थिए, ‘यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने रास्वपालाई दुई तिहाई पु¥याउन लाग्नुस् । यदि लाग्नुहुन्न भने तपाईं अस्थिर सरकार चाहिरहनुभएको छ, तपाईं देशविरोधी र राष्ट्रघाती हो ।’

चौधरीले त्यति बोल्नासाथ कार्यक्रममा सहभागी युवा र अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै होहल्ला सुरू गरेका थिए । मतदाताको स्वविवेकलाई अपमान गरेको भन्दै सहभागीहरूले ‘घण्टी मुर्दावाद !’ को नारा लगाएका थिए ।

अर्का उम्मेदवार घनश्याम गुरुङले स्टेजबाटै प्रतिवाद गर्दै भने, ‘हामी तपाईंको प्रतिस्पर्धी हौँ, के हामी पनि राष्ट्रघाती हौँ ? मतदातालाई यसरी गाली गर्ने अधिकार कसले दियो ?’

अन्य उम्मेदवारहरूले पनि लोकतान्त्रिक प्रतिस्पर्धामा अलोकतान्त्रिक भाषा प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका थिए । 

मतदातालाई नै चेतावनी दिएपछि आक्रोशित भिडबाट चौधरी र रास्वपाविरुद्ध नाराबाजी भएको थियो । नाराबाजी र विरोधका कारण कार्यक्रम केहीबेर अवरुद्धसमेत हुन पुगेको थियो । स्थिति नियन्त्रण बाहिर जान सक्ने र भौतिक आक्रमण हुन सक्ने जोखिम बढेपछि त्यहाँ तैनाथ प्रहरी टोलीले उम्मेदवार चौधरीलाई सुरक्षा घेराभित्र राखेर बाहिर निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?