काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको असन्तोषलाई दमन गरेर नभई उनीहरूको आवाज सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्नसक्ने बताएकी छन् । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिहीबार आयोजित विशेष समारोहमा उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले मुलुकमा बारम्बार आन्दोलन किन भइरहन्छ भन्ने विषयमा निर्मम आत्मसमीक्षा गर्नुपर्ने आह्वान गर्दै शासकीय संयन्त्र र राजनीतिक नेतृत्वको आलोचना गरिन् । उनले २००७ सालको क्रान्तिलाई आधुनिक नेपालको आधार मान्दै भने, त्यस यताका राजनीतिक परिवर्तनहरूले जनताको जीवनस्तरमा तात्विक भिन्नता ल्याउन नसकेको तीतो यथार्थ रहेको छ ।
कार्कीले बजेट वितरण, समानुपातिक प्रणालीको दुरुपयोग, छात्रवृत्ति तथा रोजगारीमा हुने ‘काखापाखा’ संस्कृतिको अन्त्य नभएसम्म लोकतन्त्रको औचित्य पुष्टि नहुने उल्लेख गरिन् । उनले भदौ २३–२४ मा भएका युवाहरूको आन्दोलनलाई ‘असफल संरचनामाथिको प्रश्न’ को रूपमा चित्रण गर्दै, यसले उठाएका भ्रष्टाचार, नातावाद र विभेद अन्त्यका मागहरू जायज रहेको बताइन् ।
प्रधानमन्त्रीले राज्य अब उदार मात्र नभई विनयशील र कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिँदै प्रजातन्त्रको परिभाषा शासकीय स्वरूपबाट बाहिर निकालेर आम नागरिकको दैनिक जीवनसँग जोड्नुपर्ने धारणा राखिन् । उनले इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रतादेखि भान्साको महंगीसम्म र विदेशमा पसिना बगाउने अभिभावकदेखि अस्पतालको बिल तिर्न नसक्ने बिरामीसम्म लोकतन्त्रको अनुभूति पुग्नुपर्ने बताए ।
उनले भनिन्, ‘युवामा ऊर्जा, नैतिक क्रोध र परिवर्तनको आकाङ्क्षा छ। असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ। लोकतन्त्र केवल प्रक्रिया मात्र होइन, यसले नतिजा दिनुपर्छ। प्रक्रिया नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती र सास्ती दिनु लोकतन्त्रको अभ्यास होइन ।’
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले भदौको आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको स्मरण गराउँदै सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितामा आधारित छिटो निर्वाचनको वातावरण बनाउने प्राथमिकता रहेको स्पष्ट पारिन् । उनले युवा पलायनलाई अवसरको खोजी मात्र नभई दण्डहीनता र सीमित वर्गको हालिमुहालीप्रति वितृष्णाको परिणाम भएको उल्लेख गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया