काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आसन्न फागुन २१ को निर्वाचनअघि राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आम नागरिकको तहबाट राष्ट्रिय सहमतिको माग उठिरहेको दाबी गरे । साथै उनले सांकेतिक रुपमा राजसहितको प्रजातान्त्रिक व्यवस्था अनुसार मुलुक अघि बढ्नु उपयुक्त हुने दाबी समेत गरे ।
प्रजातन्त्रमा आवधिक निर्वाचन स्वभाविक प्रक्रिया भए पनि मुलुकमा अहिले राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने आवाज उठिरहेको बताउँदै सोही अनुसार अघि बढ्न आग्रह गरे ।
‘प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए तापनि यतिबेला मुलुकमा आम जनभावना यो छ कि मुलुकमा पहिले राटिष््रय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियामा जान उचित हुने र निर्वाचनपछि कुनै द्वन्द, अशान्ती र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै देशले सही बाटो समात्ने थियो,’ उनले भने ।
त्यसो उनले आफू फागुन १ गते झापाबाट काठमाडौं आउँदा आम नागरिकहरुले स्वागत र सम्मान व्यक्त गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
त्यस्तै हरेक व्यवस्थामा राम्रा र नराम्रा दुवै पक्ष हुने भन्दै त्यसलाई समयानुकुल अघि बढाउनुपर्नेमा जोड दिए । साथै प्रजातान्त्रिक व्यवस्थामा सबैले सबैको कुरा सुन्नुपर्ने बताउँदै आम नागरिकले के भनिरहेका छन् सोही अनुसार काम गर्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया