काठमाडौं । सशस्त्र प्रहरी बलको नम्बर ९ पशुपति बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठले आफ्नो छोराको जन्मदिनमा मातहत सशस्त्र प्रहरी कर्मचारीको व्यापक दुरुपयोग गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ । उजुरीको दर्ता नम्बर ९३६ रहेको छ ।
काठमाडौंको बलम्बुमा रहेको ९ नम्बर बाहिनी कार्यालय जेनजी आन्दोलनको केही समयपछि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको छेउमै रहेको यातायात कार्यालयको हाताभित्र स्थानान्तरण भएको थियो । बाहिनीको सोही कार्यालयमा डीआईजी श्रेष्ठले गत पुस १९ गते शनिबार राति मातहत सशस्त्र प्रहरी कर्मचारीहरूको व्यापक दुरुपयोग गर्दै आफ्नो छोराको जन्मदिन भव्यरुपमा मनाएका हुन् । जन्मदिनको केही तस्बिर र भिडियो फुटेज समेत लोकपथलाई प्राप्त भएको छ ।

स्रोतका अनुसार, बाहिनीपति श्रेष्ठले आधा दर्जनबढी सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न भेसभुसामा नाचगान समेत गराएका थिए । यसका लागि केही दिन रिहर्सल पनि गराइएको थियो । रातभर नचाएकाले आफूहरूमध्ये तीन जना भोलिपल्टदेखि बिरामी परेको एक जना जवानले लोकपथलाई बताए ।
त्यस दिन साँझ ७ बजेदेखि सुरु गरिएको महँगो मदिरा र सांस्कृतिक कार्यक्रमसहितको भव्य पार्टी अर्को दिन बिहान २ बजेसम्म चलेको थियो । छोराको ‘बर्थ डे’ पार्टीका लागि बाहिनी कार्यालय नै भव्यरुपमा सजाइएको थियो ।

बाहिनीपति श्रेष्ठले छोराको बर्थ डे पार्टीमा ५० जना भन्दा बढी (पब्लिक) लाई आमन्त्रण गरिएकोमा बाहिनीमा कार्यरत १७ अफिसरमध्ये दुई जनालाई मात्र बोलाइएको थियो । बोलाइएका अधिकृतमा डीएसपी सुन्दर खड्का र सशस्त्र प्रहरी निरीक्षक गोपीराम श्रेष्ठ मात्रै रहेका छन् ।
छोराको बर्थ डे पार्टीको खर्च बाहिनी कार्यालयले नै बेहोरेको थियो । स्रोतका अनुसार, बाहिनीमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई शुक्रबार मासु खुवाइने भएपनि ‘छोराको जन्मदिनमा मासु आवश्यक पर्ने’ भन्दै त्यस दिन नखुवाई भोलिपल्टका लागि सारिएको थियो ।

सामान्यतया फौजी ब्यारेकमा एकादशीमा मासुको रुटिन परेमा अर्को दिन सार्ने चलन हुन्छ । तर छोराको बर्थ-डे पार्टीकै लागि मासुको रुटिन नै सारिएपछि बाहिनीका सशस्त्र कर्मचारीले अचम्म मानेका थिए । बाहिनीपति श्रेष्ठको छोराको जन्मदिन पनि शनिबार सार्वजनिक छुट्टीको दिन भएकाले अत्यावश्यक बाहेक सशस्त्र प्रहरीहरू बिदामा थिए ।
स्रोतका अनुसार, मासुको रुटिन नभएको दिन सिपाहीले अर्को दिन रुटिनअनुसार खाने मासुसमेत कट्टी हुनेगरी बर्थ-डे मनाउने प्रयोजनको लागि मासु प्रयोग गरिएको थियो ।
छोराको बर्थ-डेमा बाहिनीपति श्रेष्ठले सशस्त्र प्रहरी कर्मचारीको दुरुपयोग गरेको उजुरी परेपछि गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमक्ष चासो राखेको पनि स्रोतले जनाएको छ । स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले फौजी संगठनमा उच्चपदस्थ अधिकृतले यस्ता कार्यक्रम राख्नु सामान्य भएको भन्दै बाहिनीपति श्रेष्ठको बचाउ गरेका थिए ।

यस्तै, केही दिनअघि अर्को एक सार्वजनिक कार्यक्रममा पनि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालकै अगाडि यो विषय उठेको थियो । बाहिनीपति श्रेष्ठसमेत सहभागी सो कार्यक्रममा बाहिनीपति श्रेष्ठले राति २ बजेसम्म नभई राति १० बजे नै कार्यक्रम सकिएको जवाफ दिएका थिए ।
बाहिनीपति श्रेष्ठ सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका पहिलो नम्बरका डीआईजी हुन् ।
नम्बर ९ पशुपति बाहिनी मुख्यालय काठमाडौंमा बाहिनीपतिका रूपमा आएपछि उनी विवादै विवादमा मुछिँदै आएका छन् । गत चैत १५ गते भएको दुर्गा प्रसाईंको आन्दोलनमा पनि उनीबाट सुरक्षा व्यवस्थामा गम्भीर चुक भएको आरोप लागेको थियो ।
यस्तै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप पनि बाहिनीपति श्रेष्ठमाथि छ । जसबाट सशस्त्र प्रहरीको हतियार लुटिन गएको, गाडीहरू जलेको र सशस्त्रकै भौतिक सम्पत्तिमा क्षति पुग्न गएको थियो ।
स्रोतका अनुसार, बाहिनीमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई शुक्रबार मासु खुवाइने भएपनि ‘छोराको जन्मदिनमा मासु आवश्यक पर्ने’ भन्दै त्यस दिन नखुवाई भोलिपल्टका लागि सारिएको थियो ।
प्रहरीको रानीपोखरीस्थित कमान्ड पोस्टमा भ्यालीको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बलको बाहिनीपति तहको कमान्डर श्रेष्ठलाई भदौ २४ गते स्वयं आफ्नै साधारण सुरक्षा सतर्कतासमेत आकलन गर्न नसकी झन्डावाल गाडी खरानी बनाउनुका साथै आफैंले युनिफर्म फालेर भित्री वस्त्रको भरमा सेनाद्वारा उद्धार गरी उपत्यकास्थित ब्यारेकमा लगिएको थियो ।
स्मरणीय यो छ कि, सोही दिनको घटनामा रानीपोखरीबाट नजिकै कान्तिपथमा रहेको सशस्त्र प्रहरीको तत्कालीन बाघभैरव गुल्मका गुल्मपति डीएसपी सुरेश कोइरालाले भने सुझबुझका साथ परिचालित भई गुल्मलगायत निर्वाचन आयोगको कार्यालय जोगाएका थिए । यो साहसिक कार्यका कारण सर्वत्र वाहवाही कमाएका उनलाई निर्वाचन आयोग र सशस्त्र प्रहरी बलले आफ्नो २५ औं रजत महोत्सवमा छुट्टाछुट्टै रूपमा सम्मानसमेत गरेको थियो ।
त्यस दिन भएको जेनजी प्रदर्शनमा हतियार र बन्दोबस्तीका सामान जोगाउन नसकेको भन्दै बाहिनीपति श्रेष्ठ मातहतकै एक डीएसपीलाई पनि कारबाहीको सिफारिस गरिएको छ । आन्तरिक छानबिन गर्न गठित समितिले मीनभवनस्थित तत्कालीन बेसका प्रमुख डीएसपी गौतम कुँवरसहित १३ सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा मीनभवनस्थित सशस्त्र प्रहरीको बेस र झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको सशस्त्रको हतियार लुटपाट र आगजनी भएको थियो ।
जेनजी प्रदर्शन हुँदा डीएसपी गौतम नेतृत्वको टिमले आफ्नो कमान्डमा रहेको सुरक्षा बेस र हातहतियार जोगाउन नसकेको आन्तरिक छानबिन समितिले देखाएको छ । त्यस दिन प्रदर्शनकारीले यातायात व्यवस्था कार्यालय र सशस्त्रको बेसमा तोडफोड र आगजनी गरेका थिए । सशस्त्रको बेस यातायात व्यवस्था कार्यालय परिसरमा थियो ।
मीनभवनमा अवस्थित बेस अहिले त्यहाँबाट स्थानान्तरण गरिएको छ । सोही ठाउँमा अहिले नम्बर-९ पशुपति बाहिनीको मुख्यालय स्थापना गरिएको हो ।
जेनजी प्रदर्शनमा मीनभवनबाट केही थान एसएलआर हराएको थियो । त्यसमध्ये केही हतियार जलेको अवस्थामा भेटिएको जनाइएको छ । बानेश्वरबाट लुटिएको सशस्त्रको एउटा एसएलआर भक्तपुरमा भेटिएको थियो । चाँगुनारायण नगरपालिका-९ ब्रम्हायणीमा भेटिएको हतियारमा नम्बर-२० गण २९० लेखिएको थियो ।

भदौ २४ मा बेसबाट हतियार लुटिनु र जल्नुमा ‘सुरक्षा चुक’ देखिएको आन्तरिक छानबिनको निष्कर्ष छ । प्रदर्शनमा सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारी साधनमा आगजनी भएको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सशस्त्रको गाडीमा आगजनी भएको थियो ।
जेनजी प्रदर्शनमा भएको सुरक्षा व्यवस्थालाई लिएर गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले बाहिनीपति श्रेष्ठसँग पनि बयान लिएको थियो ।
श्रेष्ठ प्रहरीकै रासनमा पनि ‘गोलमाल’मा आरोपित
बाहिनीपति श्रेष्ठमाथि कमसल गुणस्तर भएको खाना खुवाउने गरेको आरोप पनि छ । सुनसरीमा एसपी हुँदा तानिएका उनीमाथि लामापाटनको समादेशक हुँदा मुद्दा नै परेको थियो ।
दाहाल नेतृत्वको छानबिन समितिले रासनमा गम्भीर चुक भएको प्रतिवेदन बुझाएको भएपनि तत्कालीन सशस्त्र नेतृत्वले यसलाई लुकाएको थियो । फलस्वरूप उनी कारबाही हुनबाट जोगिएका थिए ।
यस्तै, २१ नम्बर दक्षिणकाली गणको गणपति हुँदा पनि रासनमा घोटाला गरेको आरोप उनीमाथि थियो । त्यसबेला मुख्यालयले त्यहाँ टोली नै पठाएर छापा मारेको थियो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका तत्कालीन एसएसपी बंशीराज दाहाल (हाल एआईजी) को नेतृत्वमा गठित छानबिन समितिले दक्षिणकाली गणमा भएको रासन घोटालाबारे कैफियत देखाएको थियो । दाहाल नेतृत्वको छानबिन समितिले रासनमा गम्भीर चुक भएको प्रतिवेदन बुझाएको भएपनि तत्कालीन सशस्त्र नेतृत्वले यसलाई लुकाएको थियो । फलस्वरूप उनी कारबाही हुनबाट जोगिएका थिए ।
यसरी पटक–पटक कमजोरी तथा गैरव्यावसायिक आचरण देखाई सशस्त्र प्रहरी संगठनको नाम धुलीसात् पारिराख्दा पनि कानुन, नियमबमोजिम कारबाही भएको छैन ।
छोराको बर्थडेका लागि सशस्त्र प्रहरी कर्मचारीकै रासन खोसिँदा र संगठनको दुरुपयोग गर्दासमेत संगठनले पनि अझै पनि श्रेष्ठको बचाउ मात्रै गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया