काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा साधारण र सुविधाजनक बहुमत ल्याउने दाबी गरेका छन् ।
सहमहामन्त्री रसाइलीले पार्टी एकढिक्का भएर निर्वाचनमा होमिएको उल्लेख गर्दै आन्तरिक समिकरण मिलाउन पार्टीभित्रका सबै समूहलाई सम्बोधन गरिएको बताए । उनले वर्तमान परिस्थितिमा देश सम्हाल्न र अन्य राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न सक्षम व्यक्तिका रूपमा सभापति गगन थापालाई अघि सारिएको पनि बताए ।
रसाइलीले भने, ‘हामीले कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ भन्ने नारासहित अघि बढेका छौँ । विद्यार्थी राजनीतिबाट आएका व्यक्तिलाई पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेको छ । उनको नेतृत्वमा हामी चुनावमा जानेछौँ ।’
सहमहामन्त्री रसाइलीले युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताए । उनले फागुन २१ पछिको प्रधानमन्त्री गगन थापा हुने दाबी गरे ।
उनले थपे, ‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले कांग्रेस बदल्न र देश बदल्ने अभियान अघि बढाउन निर्णय गरेको छ। नेपाली युवाहरूको आकर्षणको केन्द्र, मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्ने नेतृत्व गगन थापाले गर्न सक्नेछन् ।’
रसाइलीले निर्वाचन टिकटमा पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहका नेताहरूले न्याय पाएको बताए । उनले कांग्रेसले रुख चिन्ह बलियो बनाउँदै निर्वाचनमा अघि बढेको पनि दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया