निर्वाचन क्षेत्रमा सुनिल शर्मा व्यस्त : के भन्छन् मोरङ–३ का मतदाता ?

लोकपथ
70
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्माले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

डा. शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन् ।

नेपाली कांग्रेसबाट एकल सिफारिस भई टिकट प्राप्त गरेका डा. शर्मा डा. शेखर कोईराला समूहका नेता हुन् ।

यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यसपटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउँछन् ।

निर्वाचन क्षेत्रका मतदाताहरूले डा. शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएको र आफूले भोट पाउनेमा विश्वस्त रहेको शर्मा बताउँछन् ।

एक स्थानीय मतदाताले भने, ‘उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नुभएको छ। गरिब दुःखीलाई सहयोग गर्ने उहाँजस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनिल शर्मा बाहेक अरूतिर जाँदैन ।’

डा. शर्माले पनि मोरङ क्षेत्र नं. ३ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा उनको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

डा. शर्माले मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै विकास र समृद्धिको एजेण्डा अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?