शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

लोकपथ
28
Shares

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।

चाडपर्वका बेला घर फर्किएका स्थानीय तथा देशका विभिन्न स्थानबाट आएका पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्न थालेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा ५९० जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

बर्खायाममा बन्द रहेको निकुञ्ज असोजको अन्तिम सातादेखि पुनः खुला गरिएपछि पर्यटकको आगमन बढेको उनले बताए ।

‘चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिम र देशका विभिन्न स्थानका पर्यटक यहाँ आउने क्रम बढेको छ,‘ चौधरीले भने ।

करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गाको झुण्ड अवलोकन गर्न पाइने स्थलका रूपमा परिचित छ । निकुञ्ज कार्यालयका अनुसार यहाँ दुई हजार ३०० भन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैँडा तथा साढे चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।

निकुञ्ज खुला भएयता कात्तिक ९ गतेसम्म ५६० जना आन्तरिक, सार्क राष्ट्रका २३ जना र अन्य मुलुकका सात जना पर्यटकले भ्रमण गरेको चौधरीले जानकारी दिए । निकुञ्ज प्रवेशका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले ७५० रुपैयाँ र अन्य विदेशी पर्यटकले एक हजार ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

काम, अध्ययन तथा अन्य कारणले जिल्ला बाहिर बसोबास गर्दै आएका कञ्चनपुरका नागरिकसमेत बिदाका बेला निकुञ्ज घुम्न आउने गरेको चौधरीले बताए । उनका अनुसार निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवर्द्धनका लागि विभिन्न प्रयास भइरहेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको चार लेनको पक्की पुल, झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा पर्यटकको आवागमन बढेको छ ।

त्यसैगरी, पश्चिमी नाका गड्डाचौकी हुँदै भारतको नैनीताल र कैँची धाम भ्रमणमा जाने नेपालीको सङ्ख्यासमेत बढेको मल्लले बताए ।

पर्यटकको आगमन बढेसँगै पर्यटकीय क्षेत्रमा यातायात, आवास तथा सुरक्षाको उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । पर्यटकीय गन्तव्यको व्यवस्थित विकास र आवश्यक पूर्वाधारको सुधारले कञ्चनपुरको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?