माघ महिनाको चिसो तापक्रमका बिचमा पनि नेपालको राजनीतिले एकाएक परिवेशलाई तताएको छ ।
सामाजिक सञ्जालमा अभ्यस्त नेपालीहरूले फेरि एकपटक अबको पाँच–दश वर्षभित्रमा नेपाल सिंगापुर बन्ने परिकल्पनाहरू सुन्न पाउनेछन् । नयाँ–नयाँ आश्वासनहरू देखाउँदै जनतालाई सपनाहरूमा रमाउने बानी पार्न थालिसकेका छन् ।
गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन र विकसित राजनीतिक घटनाक्रमले राजनीतिमा युवाहरूको प्रवेश, सुशासनको संकल्पसहितको परिवर्तनलाई स्वीकार गरिसकेको छ । नेपालमा जेनजी आन्दोलन केवल आक्रोशको अभिव्यक्ति मात्र थिएन, सचेत, प्रश्नसहितको उत्तरदायी लोकतन्त्रको माग पनि थियो ।
नेपालमा जेनजी आन्दोलनको परिणाम स्वरूप विकसित राजनीतिक घटनाक्रम र त्यसको आधारमा विकसित चेतनाले परम्परागत राजनीतिक सोच र शैलीप्रती प्रश्न गरिरहेको छ र चुनौती दिइरहेको छ, सरकार र राजनीतिक दललाई देश र जनताप्रति उत्तरदायी र जवाफदेही बन्न आव्हान गरेको छ । डिजिटल प्लेटफर्ममार्फत पुरानो राजनितिक सोच र शैलीप्रति चुनौती खडा गरी जनमत निर्माणका साथ नागरिक खवरदारी र निगरानीलाई शसक्त बनाएको छ, भविश्यको वैकल्पिक नेतृत्व र राजनीतिक संस्कार निर्माणको आधार तयार गरेको छ ।
नेपालको राजनीति वास्तवमा भन्ने हो भने यथार्थवादभन्दा बाहिर लोकप्रियतावादमा परिणत भइसकेको छ । हिजोका घटनाक्रमलाई वर्तमानले बिर्साउन खोजेको जस्तो प्रतित हुँदैछ ।
राजनीतिमा यर्थतावाद (Political Realism) र यसको प्रयोग
राजनीतिमा यथार्थवाद एक कठिन तर टिकाउ मार्ग हो जसले सन्तुलित शासन वा नीतिको पक्ष लिन्छ । यसको आधार भनेको तथ्य र तथ्यमा आधारित तर्क हो । यो समय दृष्टिका आधारमा दीर्धकालिक, निर्णयका आधारमा व्यवहारिक, परिणामका आधारमा स्थायित्व हुन्छ भने जोखिमताका आधारमा अलोकप्रिय नै हुन्छ । यथार्थवाद एक विचारधारा हो, जो वास्तविक तथ्य, परिस्थिती र व्यवहारिक सीमामा बाँधिएको हुन्छ ।
राजनीतिमा लोकप्रियतावाद र यथार्थतावादबिच सन्तुलन कायम गर्न सकेमा यसले नेतृत्वलाई सफलताको श्रेय मात्र होइन, अलोकप्रिय निर्णयको जिम्मेवारी लिन सक्ने क्षमताको समेत विकास गराउने छ, भने नेतृत्व लोकप्रियताको दवावमा मात्र होइन् नैतिकता र दुरदृष्टिका आधारमा लिन समेत मद्दत गर्नेछ । नेपाल अहिले संसदीय निर्वाचनको संघारमा खडा छ ।
राजनीतिमा यथार्थवाद वास्तविक शक्ति सन्तुलन, स्रोतको सहि पहिचान र परिचालन, निर्णयमा परिस्थितिगत प्रभाव विश्लेषण र मूल्याङ्कनमा आधारित हुन्छ ।
यथार्वादमा निर्णयहरू तथ्यमा आधारित, अनुभवले खारिएका र भविष्यमा पर्नसक्ने प्रभावमा आधारित हुन्छन् भने भावनाको स्थानमा विवेक र तर्कले स्थान ग्रहण गरेको हुन्छ ।
नीति निर्माणको दृष्टिकोणले कठिन तर आवश्यक यथार्थवादको वास्तविक लक्ष्य भनेको विषयवस्तुको स्थायी समाधान र वास्तविक सुधार हो । राष्ट्रिय सुरक्षा, आर्थिक तथा कुटनीतिगत स्थायित्व यसका प्राथमिकताहरू हुन् । उदाहरणका रूपमा करका दर बढाउनु, राज्यबाट दिइने अनुदानहरू घटाउनु, कठोर सुधारका नीतिहरू लागु गर्नु तथापी तत्कालीन रूपमा जनतामा अलोकप्रिय नै किन नहोस् ।
राजनीतिमा लोकप्रियतावाद ( Political Populism) र यसको प्रयोग
राजनीतिमा लोकप्रियतावाद ( Political Populism) विषयवस्तुको सहज र अस्थायी समाधान हो । यसले राजनीतिमा यथार्थवादी अलोकप्रिय दृष्टिकोणका विरूद्द लोकप्रियतामा विश्वास राख्छ ।
लोकप्रियतावाद अल्पकालिन, जनभावनामा आधारित, भावनात्मकतामा आधारित लोकप्रिय हुन्छ । जन–जनको इच्छा, चाहना र भावनालाई तत्कालीन रूपमै सम्बोधन गर्ने, राहत र सन्तुष्टि प्रदान गर्न सक्ने हुन्छ । यो विषयवस्तुको अस्थायी तथा अस्थिर समाधान हो ।
लोकप्रियतावाद जनभावनामा आधारित हुन्छ । लोकप्रिय विषयवस्तु वा नारालाई उठान गरी जनताको तत्कालीन समर्थन जुटाउँछ ।
कुनै पनि विषयमा निर्णय गर्दा जनताले के मन पराउँछन्, क्षणिक विषयमा ध्यान केन्द्रित गर्छ, अल्पकालिन हितमा केन्द्रित हुन्छ भने दीर्घकालिन प्रभाव पर्ने विषयवस्तुलाई पन्छाउन खोज्छ ।
यसप्रकारको दृष्टिकोणले जनताको तत्कालीन आवश्यकता, भावना र चाहनाहरूलाई प्राथमिकता दिन्छ, राजनीतिक यात्राको सरल बाटो अपनाउँछ, तुरून्त लोकप्रियता र समर्थनको अपेक्षा राख्दछ । उदाहरणका रूपमा वित्तीय योजना विनाको बृद्धभत्तालाई लिन सकिन्छ ।
राजनीतिमा लोकप्रियतावाद ( Political Populism) ले पार्ने प्रभावः
सकारात्मक प्रभावः
द्वन्दात्मक भौतिकवादी दृष्टिकोणले हेर्ने हो भने हरेक विषयका सकारात्मक र नकारातमक दुई पक्षहरू हुन्छन् ।
राजनीतिक लोकप्रियतावादले शासन व्यवस्था सञ्चालनमा जनसहभागिता वृद्धि गरी निर्णय र निर्णय कार्यान्वयन प्रक्रियामा जनताको व्यापक सहभागिता र पहुँच जुटाउने, राज्यको तर्फबाट शोषित र दमित वर्गको पक्षमा आवाज वुलन्द गर्ने, सर्वसाधारण जनताको राजनीतिक चासो र सरोकारलाई आवाजका रूपमा उठाउने, गरिव तथा सिमान्तकृत वर्गको लागि क्षणिक राहात प्रदान गरी जनभावना मुखरित गर्ने काम गर्छ ।
नकारात्मक प्रभावः
हरेक सकारात्मकताका बिचमा नकारात्मकता पनिसँगै हुन्छ । यो प्रकृतिको नियम पनि हो । राजनीतिक लोकप्रियतावादमा जति मात्रामा सकारात्मक पक्षहरू छन्, त्यती नै यसका नकारात्मक पक्ष पनि भेटिन्छन् । मार्क्सवादी विचारधाराले पनि यहि भन्छ ।
नीति निर्माणको दृष्टिले हेर्ने हो भने यो अव्यवहारिक र अपरिपक्व छ । देशको आर्थिक अवस्था, स्रोत र साधनको पहिचान र प्रर्याप्तताको वस्तुगत विश्लेषण बिना सस्तो लोकप्रियताका लागि निर्णयहरू गर्न पुग्छ, जसले मुलुकलाई दीर्घकालिन असर पर्न सक्छ । अनुत्पादक क्षेत्रमा अत्यधिक खर्चमा वृद्धि, स्वदेशी तथा वैदेशिक ऋणमा वृद्धि र मुद्रास्फीति जस्ता कारणले मुलुकले धान्नै नसक्ने गरी आर्थिक अस्थिरता हुन जान्छ ।
राजनीतिमा सस्तो लोकप्रियाले प्रहार गर्ने भनेको नै कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सञ्चार र विशेषज्ञ संस्थामाथि नै हो जहाँ आमनागरिकको आस्था र विश्वास टिकेको हुन्छ । यी र यसप्रकारका संस्थाहरूमा घट्ने स–साना घटनाहरूलाई अतिरञ्जित गरी जनताको नजरमा मन जित्ने प्रयास गर्छन् । जनताको नजरमा यी संस्थाहरूलाई कमजोर देखाएर आफुले लोकप्रियता हासिल गर्ने प्रयास गर्छन् । लोकप्रियतावादीहरूको ध्यान संस्थागत सुदृढीकरण र विकासमा नभई संस्थागत कमजोरीमा टेकी व्यक्तिगत रूपमा सस्तो लोकप्रियता हासिल गर्नुमा केन्द्रित हुन्छ । राजनीतिक लोकप्रियतावादको अर्को कमजोर पक्ष भनेको समाजको ध्रविकरण हो । यसले समाजलाई विभिन्न नाममा ध्रुविकरण गरेको हुन्छ । समाजमा हाम्रोकाविरूद्द उनीहरू भन्ने भाष्य सिर्जना गरेको हुन्छ जसका कारण सामाजिक सद्भाव र सहिष्णुता खलबलिन पुग्छ । यसले राज्यका संस्थाहरूलाई कमजोर बनाई राज्यभन्दा व्यक्ति र राजनीतिक दल र स्वार्थलाई केन्द्रमा राखेको हुन्छ ।
लोकप्रियतावाद ( Political Populism) ले लोकतन्त्रमा पार्ने प्रभावः
लोकतान्त्रिक शासन व्यवस्थामा राज्यको सर्वोच्च शक्ति जनतामा निहित रहेको हुन्छ । जनताले आफुमा निहित सर्वोच्च शक्तिको प्रयोग गरी आवधिक रूपमा आफुले चुनेका प्रतिनिधिमार्फत आफुमाथि शासन सञ्चालन गरेका हुन्छन् जसका लागि स्वतन्त्र, निष्पक्ष र आवधिक निर्वाचनको व्यवस्था गरिएको हुन्छ । लोकतन्त्रमा दलहरूमार्फत विचारको प्रतिष्पर्धा र विचारको आधारमा राज्यशक्तिको समुचित प्रयोग र पालना गरिन्छ ।
मौलिक अधिकार, मानव अधिकारको संरक्षण र विकास, कानुनी शासन, प्रतिष्पर्धात्मक शासन प्रणाली, उत्तरदायी सरकार जस्ता संविधानवादका मूल्य र मान्यताहरू लोकतन्त्रका सुन्दरतम् गहना हुन् । लोकतन्त्र केवल शासन प्रणाली मात्र होइन, यो जनताको जीवन पद्दति पनि हो ।
राजनीतिक लोकप्रियतावादले जनताको आवाजहरूलाई मुखरित र बुलन्द त गर्छ नै, यद्यपि सस्तो लोकप्रियता र चुनावी सफलताका लागि गरिने प्रचारबाजी, लिइने राजनीतिक अडानले दीर्घकालिन महत्वका विषयहरू छायाँमा पर्न सक्दछन् ।
राजनीतिक लोकप्रियतावादको अत्यधिक प्रयोगले शासन प्रणालीमा अस्थिरता आउन सक्ने, राष्ट्रिय अर्थतन्त्र कमजोर र प्रभावित हुन सक्ने, राष्ट्रियता कमजोर र लोकतन्त्र नै खतरामा पर्न सक्ने हुनसक्छ । त्यसैले प्रभावकारी राजनीतिको लागि लोकप्रियताको दवाव र यथार्थवादी नीतिको सन्तुलन अपरिहार्य हुन्छ ।
राजनीतिमा लोकप्रियतावाद र यथार्थतावादबिच सन्तुलनको खोजीः
राजनीतिमा लोकप्रियतावाद ( Political Populism) र यथार्थतावाद एकअर्काका विरोधी मात्र होइनन् पर्याय पनि हुन् ।
यसको सन्तुलित प्रयोगले लोकतन्त्रलाई संस्थागत गर्छ । राजनीतिमा लोकप्रियतावादले जनभावनालाई सम्बोधन गर्छ, जनसमर्थन र परिचालन गर्छ भने यथार्थवादले व्यवहारिकता, स्थायित्व र दीर्घकालिन हितलाई सुनिश्चित गर्छ । यी दुईको सन्तुलित र संयमित प्रयोगले तथ्य र वास्तविकतामा आधारित नीति निर्माण गर्न र त्यसको जनमैत्री प्रस्तुती र कार्यान्वयनका लागि सहजिकरण गर्छ ।
गरिव, असह्य तथा प्रभावित वर्गका लागि अल्पकालीन राहत र दीर्घकालीन योजनाबिच संयोजनको कारण मुलुकको आर्थिक, सामाजिक र संस्थागत सुधारमा मद्दत पुग्छ ।
राजनीतिमा लोकप्रियतावाद र यथार्थतावादबिच सन्तुलनका कारण एकातिर निर्णय निर्माण र कार्यान्वयनमा सरोकारवालाहरूको पहुँच र सहभागिता हुन्छ भने अर्कोतिर पारदर्शीता र इमान्दार संवादका कारण अव्यवहारिक वाचा नगरी यथार्थ चित्रण गर्न सहज हुन्छ । नीति निर्णय र निर्माणमा संसद, विशेषज्ञ निकाय र संवैधानिक संस्थाको भूमिका मजबुत बन्छ ।
व्यक्ति केन्द्रित होइन, संस्थामुखी शासन प्रणालीको विकासका कारण संस्थागत निर्णय प्रणालीलाई सुदृढीकरण गर्छ । जहाँ राजनीतिमा राजनीतिक साक्षारताको मात्रा बढी हुन्छ, त्यहाँ अव्यवहारिक लोकप्रियतावादको मात्रा कमी हुन्छ । सचेत नागरिक यथार्थवादी नीतिका समर्थक हुन्, विरोधी होइनन् र हुन सक्दैनन ।
राजनीतिमा लोकप्रियतावाद र यथार्थतावादबिच सन्तुलन कायम गर्न सकेमा यसले नेतृत्वलाई सफलताको श्रेय मात्र होइन, अलोकप्रिय निर्णयको जिम्मेवारी लिन सक्ने क्षमताको समेत विकास गराउने छ, भने नेतृत्व लोकप्रियताको दवावमा मात्र होइन् नैतिकता र दुरदृष्टिका आधारमा लिन समेत मद्दत गर्नेछ । नेपाल अहिले संसदीय निर्वाचनको संघारमा खडा छ ।
हाम्रा राजनीतिक दल र नेतृत्वले समयमै यस तथ्यलाई ध्यान दिन सकेमा सुनौलो भविश्य सहितको नेपालको अपेक्षा गर्न सकिन्छ, अन्यथा लोकप्रियतावादका नाममा नेपाल कहाँ गएर फस्ने हो, समयले बताउला नै ।
(लेखक पाण्डेय उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा कार्यरत रहेका छन् । यो लेखकको निजी विचार हो ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया