एआई मानवीय संवेदनाको विकल्प हुन सक्दैन : बार अध्यक्ष मिश्र

लोकपथ
0
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले कानून व्यवसाय र न्याय सम्पादनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई आत्मसात गर्दै यसलाई केवल ‘सहयोगी औजार’ का रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल बार एशोसिएशन युवा समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै विजयप्रसाद मिश्र ले प्रविधिमैत्री न्याय प्रणाली समयको आवश्यकता भएको उल्लेख गरे । उनले एआईका कारण कानून व्यवसायीहरूमा आलस्यता बढ्ने र सिर्जनशीलता कमजोर हुन सक्नेप्रति सचेत रहन आग्रह गरे ।

उनले फिरादपत्र, प्रतिउत्तर र बहस नोट जस्ता कानुनी दस्तावेजहरू कानून व्यवसायीको आफ्नै बौद्धिक सिर्जना हुनुपर्नेमा जोड दिँदै एआईबाट तयार गरिएका सामग्री हुबहु प्रयोग गर्दा कानूनी जोखिम उत्पन्न हुन सक्ने बताए । यसबारे आचारसंहिता पुनरावलोकन समितिले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मिश्रले कानून व्यवसायीको व्यावसायिक मर्यादा र अनुशासनप्रति नेपाल बार एशोसिएशन गम्भीर रहेको उल्लेख गरे । सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा अराजक टिप्पणी र व्यवहार बढ्दै गएको भन्दै यसलाई नियमन गर्न काउन्सिलले छुट्टै अनुगमन इकाइ गठन गरेको पनि उनले जानकारी दिए ।

उनले एआईलाई रोक्न नसकिने प्रविधि भन्दै यसको सही उपयोग गर्नुपर्ने धारणा राखे । ‘एआई हाम्रो जीवन पद्धतिको अभिन्न हिस्सा बनिसकेको छ, यसलाई रोक्न सकिँदैन तर सही प्रयोग गर्न सिक्नुपर्छ, ‘उनले भने ।

मिश्रले अदालत र बारबीच आवश्यक पूर्वाधारको असन्तुलनप्रति असन्तुष्टि जनाउँदै नयाँ अदालत भवन निर्माणमा बारका लागि पर्याप्त स्थान नछुट्याइएको गुनासो पनि गरे । साथै, राज्य संरचनामा अंग्रेजी भाषाको बढ्दो प्रयोगले नेपाली भाषाको मौलिकतामा असर पर्न सक्नेबारे चिन्ता व्यक्त गरे ।

उनले आगामी सोमबारदेखि कानून व्यवसायीलाई लक्षित गरी एआई सम्बन्धी विशेष तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए । साथै, युवा समितिलाई यस्ता रचनात्मक र प्रशिक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?