काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँगको भेटघाट सकारात्मक र फलदायी भएको बताएका छन् ।
मन्त्री सिन्हा राप्रपा कार्यालय पुगेर भएको छलफलमा आगामी प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी, स्वतन्त्र, धाँदलीरहित र सहज बनाउनका लागि आवश्यक कदमबारे कुराकानी भएको जानकारी दिए । उनले राप्रपाले चुनाव गराउन आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको बताए ।
सिन्हाले भने, ‘आउँदो निर्वाचनलाई कसरी प्रभावकारी, स्वतन्त्र र सहज बनाउने भन्नेबारे छलफल भयो । चुनावी तयारी र समयका विषयमा पनि कुरा भयो । राप्रपाले आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । अन्य सुधारका लागि सुझाव पनि दिइने कुरा भएको छ। छलफल सकारात्मक र फलदायी रह्यो ।’
सरकारद्वारा गठित राजनीतिक संवाद समितिका तर्फबाट सिन्हासहित सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि विभिन्न राजनीतिक दलसँग भेटघाट गरी चुनावको लागि अनुकूल वातावरण बनाउन सक्रिय रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया