‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’

लोकपथ
0
Shares

काठमाडौं । कांग्रेस महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकासको कोषमा सरकारको विवास्पद निर्णयप्रति कटाक्ष गरेका छन् ।

सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्त गरेको थियो ।

आनी छोइङको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद देखिएको विषयमा पौडेलले सरकारलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका हुन् ।

‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड ! त्यो पनि मध्यरातमै ! अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने ! सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिदैन,’ उनले भनेका छन् ।

सरकारले आनी छोइङको नियुक्तिबारे नागरिकता र आर्थिक कारोबारबारे प्रश्न उठेको बताउँदै त्यसबारे छानबिन गर्न माग गरे ।

पूर्वमन्त्री समेत रहेका महामन्त्री पौडेलले रातिको समयमा विरोध गर्ने नागरिकलाई पक्राउ गर्नु निन्दनीय रहेको टिप्पणी गरे ।
‘आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेका छन्, ती प्रश्नको जवाफबिना सरकारले न नियुक्तिको औचित्य पुष्टि गर्न सक्छ, न छनोटका आधार बताउन सक्छ,’ उनले भनेका छन्, ‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ । राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ । गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?