काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा उत्कृष्ट कार्य गर्ने पाँच जना कर्मचारीहरूलाई संयुक्त राष्ट्रसंघको (युएन) शान्ति मिसनमा सिधै सहभागी हुने अवसर प्रदान गरिएको छ ।
यसपटकको छनोटमा भिआइपी कोटा वा पहुँचका आधारमा नभई वास्तविक उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई प्राथमिकता दिइएको छ ।
छनोट भएका कर्मचारीमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्का समयमा देशका विभिन्न भागमा १९ पटक खटि १० जनाको उद्धार र ११ शव निकालिसकेका छन् भने दुई जना पर्यटकको जीवितै उद्धार गर्न सफल भएका थिए ।
सहायक हवल्दार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरीको ईटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ मध्ये ५ जनाको रोप रेस्क्यु विधिबाट उद्धार गरेका थिए । उनले विभिन्न घटनामा २० पटक खटि १५ शव निकालिसकेका छन् ।
सहायक हवल्दार मेघ बहादुर गुरुङले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिममा उत्कृष्ट प्रशिक्षकको रूपमा खटिएका छन् र विभिन्न दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुको साथै विदेशी नागरिकको उद्धारमा समेत खटिएका छन् ।
सहायक हवल्दार किरण बहादुर भण्डारी गत वर्षको उत्कृष्ट ‘वर्ष जवान–२०८१’ घोषित भएका थिए र आपत् विपदमा नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्धारमा उत्कृष्ट कार्य गरेका छन् ।
सशस्त्र प्रहरी परिचर पुरन राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र १ कास्य गरी १२ पदक जितेर संगठनको नाम उच्च राखेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल विगत लामो समयदेखि संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापना कार्यमा सक्रिय रहेको छ । यसपटकको छनोटले उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई प्रोत्साहन दिएको छ र बलभित्र थप हौसला अभिवृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया