पत्रकार पक्राउ प्रकरणमा बोल्यो प्रेस काउन्सिल, भन्यो : ‘कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई रिहा गर’

लोकपथ
0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्न प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको भनाइ छ ।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा शुक्रबार साँझ जारी विज्ञप्तिमा यस्तो धारणा सार्वजनिक गरिएको हो ।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रताको संवैधानिक तथा व्यावसायिक अधिकारमाथि चुनौती थपेको काउन्सिलको ठहर छ ।

‘प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,’ काउन्सिलले भनेको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो । समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिल आग्रह गर्दछ ।’

पत्रकार पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिइनु आपत्तिजनक भएको काउन्सिलको भनाइ छ ।

त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न पनि काउन्सिलले माग गरेको छ ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नसमेत आग्रह गरेको छ ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवद्र्धनमा काउन्सिल सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सादा पोसाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसिरहेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?