साढे १५ महिनापछि सशस्त्रका एआईजीको सरुवा, मानवस्रोतमा पौडेल

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीनै जना एआईजीको सरुवा गरेको हो । 

सशस्त्र प्रहरीमा एआईजी प्रमुख हुने मानवस्रोत, कार्य र सीमा सुरक्षा गरी तीन वटा विभाग रहेको छ । 

स्रोतका अनुसार एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका नारायणदत्त पौडेललाई कार्यबाट मानवस्रोत, दोस्रो वरीयताका बंशीराज दाहाललाई मानवस्रोतबाट सीमा सुरक्षा र तेस्रो वरीयताका गणेशबहादुर ठाडा मगरलाई सीमा सुरक्षाबाट कार्यविभागमा सरुवा गरिएको छ । 

सामान्यतः एक वर्षमा हुनुपर्ने एआईजीको सरुवा यो पटक साढे १५ महिनापछि भएको हो । 

२०८१ साल भदौ १३ गते बसेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले एआईजी दाहाललाई कार्य विभागबाट मानवस्रोत, पौडेललाई सीमा सुरक्षाबाट कार्य र चन्द्रप्रकाश गौतमलाई मानवस्रोतबाट सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो । गौतमले भने अवकाश पाइसकेका छन् । उनको ठाउँमा ओली सरकारले ठाडामगरलाई बढुवा गरेको थियो । साथै तत्कालीन सरकारले गौतमले सम्हाल्दै आएको सीमा विभागमा ठाडामगरलाई पदस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?