गणतन्त्र गरिब जनताको हित गर्ने व्यवस्था हो : मुख्यमन्त्री बानियाँ

लोकपथ
112
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा व्यक्त गरेका छन् ।

बागमती प्रदेश सुशासन केन्द्र र फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरको सहकार्यमा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको हित गर्ने व्यवस्था भएको र जनताको अवस्था परिवर्तनमा आफू सदैव प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘नेपालले विभिन्न कालखण्डमा फरक परिस्थितिहरू भोग्दै विसं २०६५ जेठ १५ गतेदेखि गणतन्त्रमा प्रवेश गरेको हो । तत्कालीन समयमा अन्तरिम संविधान जारी भए पनि जनताको अवस्थामा उल्लेख्य परिवर्तन हुन सकेको छैन । परिवर्तनसँग जोडिएको विषय नेपालको समृद्धि हो, व्यवस्थागत कमजोरी सुधार्नुपर्छ ।’

मुख्यमन्त्री बानियाँले अस्थिरता र भ्रष्टाचारका कारण सकारात्मक परिवर्तन आउन नसकेको बताए । उनले जेनजी पुस्तासँग सहकार्य र अन्तरक्रियाबाट सुधार आवश्यक रहेको उल्लेख गर्दै भने, ‘हाम्रो गणतान्त्रिक व्यवस्थाले सबै वर्ग र समुदायलाई समेटेको छ, तर नेतृत्व परिवर्तन नभएकाले अवस्था परिवर्तन हुन सकेन। अब सबैले आफ्ना कमजोरी सुधार्दै जेनजी पुस्तासँग सहकार्य गर्नुपर्छ ।’

कार्यक्रममा प्रदेशसभाका राजनीतिक दलका नेता र जेनजी पुस्ताका युवाबिच संघीय प्रणालीका चुनौती र समाधानबारे गहिरो छलफल भएको थियो । फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरका अध्यक्ष डा.खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरे भने प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले कार्यक्रम सञ्चालन गरे ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशले सहकार्य, समन्वय र सहअस्तित्वमार्फत अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?