कञ्चनपुरमा जंगली हात्तीको आतंक, ९ वर्षमा १७ जनाको मृत्यु

लोकपथ
49
Shares

महेन्द्रनगर । कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको छ । जंगली  हात्तीको आक्रमणबाट मात्रै बितेको नौ वर्षमा १७ जनाले ज्यान गुमाएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय कञ्चनपुरका तथ्याङ्कअनुसार २०७३ सालदेखि हालसम्म तीन महिला र १४ पुरुष गरी १७ जनाको हात्तीको आक्रमणमा मृत्यु भएको हो ।

डिभिजन वन कार्यालयका अधिकृत सोफिया भट्टराईका अनुसार राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा मात्रै नौ वर्षको अवधिमा आठ जनाको मृत्यु भएको छ । उक्त अवधिमा दुई जना घाइते भएका छन् ।

‘मृत्यु भएका प्रत्येकलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइएको छ,‘ अधिकृत भट्टराईले बताइन्, ‘घाइतेको अवस्थाअनुसार उपचार खर्च पनि प्रदान गरिएको छ ।’

पछिल्ला महिनाहरूमा भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी तथा बेल्डाँडी गाउँपालिकाका बासिन्दा जंगली  हात्तीको सताइमा परेका छन् । हात्ती बस्तीमा पस्ने क्रम बढेसँगै स्थानीय रातभर जाग्राम बसेर सुरक्षामा जुट्ने गरेका छन् । पालिकासँगै निकुञ्ज र वन कार्यालयले हात्ती धपाउनका लागि टोली खटाउने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार २०७५ सालदेखि अहिलेसम्म निकुञ्ज क्षेत्रमा मात्रै नौ जनाको मृत्यु भइसकेको छ ।

‘यो अवधिमा नौ जनाको मृत्यु, सात जना गम्भीर र चार जना सामान्य घाइते भएका छन्,‘वाग्लेले बताए, ‘यो वर्ष विगतका वर्षभन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्तीको आवतजावत उल्लेख्य रूपमा बढेको देखिएको छ ।’

उनका अनुसार हात्ती नियन्त्रण र धपाउने कार्यका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली सतर्क अवस्थामा रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?