बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पुगेका दुईजना पर्यटक सम्पर्कविहीन भएका छन् । वर्षासँगै भारी हिमपात भएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँचजनाको टोली बडीमालिका गएको थियो । तीमध्ये तीनजना बडीमालिका पुगेर फर्किसकेका छन् ।
चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्किने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन भएका थिए । त्यसपछि सागरसँग पनि शनिबार रातिदेखि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक शाहीका अनुसार सागरले यसअघि फोनमा कुरा गर्दा फर्किने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको बताएका थिए ।
सो क्षेत्रमा भारी हिमपात भएकाले मनिष हराएको र हिउँका कारण तल झर्न नसक्दा सागर पनि अलपत्र परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुवैजनाको मोबाइल फोन बन्द रहेकाले उनीहरूको अवस्था पत्ता लगाउन कठिन भएको छ । प्रहरीले दुवैजनाको खोजी तथा उद्धारका लागि टोली पठाउने तयारी गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया