माछापुच्छ्रे बैंकको नाफा ३१.८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ५५ करोड

लोकपथ
35
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३१.८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष बैंकको नाफा १३ करोड ३२ लाख रुपैयाँले बढेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन आम्दानी २ अर्ब ३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि बैंकले २१ करोड १२ लाख रुपैयाँ छुट्याएको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ ४३ पैसा रहेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि १४० रुपैयाँ २२ पैसाबाट बढेर १४४ रुपैयाँ ४० पैसा पुगेको छ ।

बैंकको निक्षेप र कर्जा प्रवाहसमेत उल्लेख्य रहेको छ। असोज मसान्तसम्म बैंकले २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति २ खर्ब ६५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपातमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.१३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.९७ प्रतिशतमा झरेको छ । यस्तै, खुद खराब कर्जा अनुपात १.२३ प्रतिशतबाट घटेर १.०४ प्रतिशतमा आएको छ ।

खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १००.८७ प्रतिशतबाट बढेर १०६.४३ प्रतिशत पुगेको छ । यसले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले गरेको व्यवस्थामा सुधार आएको देखाउँछ ।

बैंकको कोषको लागत ४.०३ प्रतिशतबाट घटेर ३.१४ प्रतिशतमा झरेको छ । यस्तै, आधार दर ५.८१ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा आएको छ । आधार दर घट्दा बैंकलाई कर्जाको ब्याजदर कम गर्न सहज हुने देखिए पनि बैंकको ब्याजदर अन्तर भने ३.६५ प्रतिशतबाट घटेर ३.४१ प्रतिशतमा झरेको छ ।

पुँजी पर्याप्तता अनुपात गत वर्षको १२.१७ प्रतिशतबाट घटेर ११.७६ प्रतिशतमा आएको छ । तर, टियर वान पुँजी अनुपात ८.७३ प्रतिशतबाट बढेर ९.२२ प्रतिशत पुगेको छ । इक्विटीमा प्रतिफल ८.८९ प्रतिशतबाट बढेर ९.६२ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.७५ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ ।

यसैगरी, बैंकको कर्जा–निक्षेप अनुपात ७९.४४ प्रतिशतबाट घटेर ७७.९३ प्रतिशतमा आएको छ ।

बैंकको चुक्ता पुँजी १५ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत ब्याजदर भएको माछापुच्छ्रे बैंक पर्पेचुअल गैरसञ्चयी अग्राधिकार सेयरसमेत समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?