पत्रकार पक्राउ गरेर सत्य दबाउन खोजिएको आङ्देम्बेको आरोप

लोकपथ
0
Shares
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोप लगाएका छन् ।

शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले पत्रकार पक्राउ गर्दैमा समाचारको सत्य दबाउन नसकिने बताएका हुन् । उनले बालेन नेतृत्वको सरकारको कार्यशैलीले प्रेस स्वतन्त्रता र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको टिप्पणी गरेका छन् ।

पछिल्लो समय समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई त्रसित बनाउने गतिविधि भइरहेको भन्दै आङ्देम्बेले आपत्ति जनाएका छन् ।

अदालतमा विचौलियामार्फत सेटिङ भएको भनिएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएका समाचार सार्वजनिक भइरहेका बेला पत्रकारमाथि धरपकड हुनु गम्भीर विषय भएको उनले बताएका छन् ।

उनका अनुसार पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र कतिपयलाई साइबर ब्युरोमा बोलाउने घटनाले समाचार लेख्ने स्वतन्त्रता संकुचित हुँदै गएको छ । सरकारका कमजोरी औंल्याउने पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले सरकार जनताका प्रश्नबाट पन्छिन खोजेको सन्देश दिएको उनको भनाइ छ ।

पत्रकार पक्राउको घटनाबारे प्रधानमन्त्रीको सचिवालय, गृह प्रशासन र प्रहरी प्रवक्ताले स्पष्ट जानकारी नभएको बताइरहेका बेला पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा आफूलाई पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको आङ्देम्बेले वक्तव्यमा उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्रीको निर्देशनमा हुने कामसहित सरकारका सबै गतिविधि कानुनसम्मत हुनुपर्नेमा जोड दिएका छन् । कानुनी राज्यको पालना र सम्मान गर्नु प्रधानमन्त्रीको समेत कर्तव्य भएको उनले बताएका छन् ।

आङ्देम्बेले राज्यका निकायलाई कानुनअनुसार काम गर्न र स्थापित छानबिन निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

दशकौंको संघर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?