कांग्रेस बैठक बस्दै, महाधिवेशनका लागि महामन्त्री थापा र संस्थापन पक्षको अलग–अलग कार्यतालिका प्रस्तुत हुने

लोकपथ
784
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री गगन थापा र संस्थापन पक्षबाट महाधिवेशनका अलग–अलग कार्यतालिका प्रस्तुत हुने भएको छ । 

आइतबार पनि स्थगित कांग्रेस बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

महामन्त्री थापाले कार्यतालिकाको तयारीका लागि आफ्ना पक्षका नेताहरूसँग परामर्श गर्दै छन् । महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्मका लागि प्रस्तुत गरेको कार्यतालिकामा केही संशोधन गरी कार्यतालिका पेस गर्ने जनाइएको छ । 

संस्थापन पक्षले त्यसको प्रत्युत्तरमा सहमहामन्त्री महेन्द्र राय यादवमार्फत छुट्टै कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको छ । उनले वैशाख २७ देखि ३० गतेसम्मको कार्यतालिका प्रस्ताव गर्ने तयारी भइरहेको छ । दुवै कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेर निर्णय गराउने संस्थापन पक्षको तयारी छ ।

केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको बहुमत छ । त्यसैले महामन्त्री थापाले पेस गर्ने कार्यतालिका पारित हुने सम्भावना न्यून छ । 

उता, निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित नभएमा विशेष महाधिवेशन गर्नुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुने दुवै महामन्त्रीले बताउँदै आएका छन् ।

एउटै कार्यतालिकामा सहमति गराउन कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत शीर्ष नेताहरूबीच छलफल चलाएका थिए । चार दिनसम्मको छलफलबाट सहमति नजुटेपछि मंगलबार दुवै पक्षले अलग–अलग कार्यतालिका तयार पारेका हुन् । यसले पार्टीभित्रको विवाद अझै बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?