एक्सनमा प्रधानमन्त्री कार्की : नेवानिमा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन निर्देशन

लोकपथ
315
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिका लागि समिति गठन गरेकी प्रधानमन्त्री सुशीला कार्कीले पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीहरु तत्काल हटाउन निर्देशन दिएकी छन् ।

पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर सो निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले नेवानिमा देखिएका बेथिति अन्त्य गर्न समेत निगमका सञ्चालक समिति र व्यवस्थापन टोलीलाई गम्भीर भएर काम गर्न निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले निगम सुधारका लागि विभिन्न समयमा तयार पारिएका विज्ञ प्रतिवेदन कार्यान्वयनमा ल्याउन आदेश दिइन् । उनले निगमलाई गौरव गर्नलायक राष्ट्रिय संस्था बनाउन सम्बद्ध सबैले जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले निगमका विमानको नियमित मर्मतसम्भारमा देखिएको बेथिति रोक्ने, आर्थिक अनियमितता हुन नदिने र सुशासन कायम गर्न निर्देशन दिएकी हुन् । साथै उनले राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न अधिकारीहरूलाई चेतावनीसमेत दिइन् ।

बैठकमा निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनभित्रै देखिने गरी सुधारका ठोस कदम चाल्ने प्रतिबद्धता जनाए । त्यस्तै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम हाल १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित घाटामा रहेको जानकारी दिए ।

सो अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उच्च अधिकारीहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?