नियमित सेवामा फर्कियो उच्च अदालत पाटन, बुधबार ४४ थान मुद्दामा फैसला

लोकपथ
294
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि नियमित सुनुवाइ स्थगित भएकामा बुधबारबाट उच्च अदालत पाटनले पूर्ण क्षमतामा काम सुरु गरेको छ । अदालतमा आगजनी नभएको भए पनि सुनुवाइमा समस्या भएकामा बुधबारबाट पूर्ण क्षमतामा काम सुरु भएको हो ।

उच्च अदालत पाटनका रजिस्ट्रार डा. अशोक कुमार क्षेत्रीले बुधबारबाट पूर्ण क्षमतामा काम सुरु भएको बताए । क्षेत्रीका अनुसार उपलब्ध सबै न्यायाधीशबाट बुधबार १७ वटा इजलास सञ्चालन गरिएको छ ।

बुधबारबाटै अदालतको सिस्टम र अटोमेसन समेत सञ्चालनमा आएको छ भने अब पेसी र सुनुवाइको जानकारीसमेत वेबसाइटमा प्रकाशन सुरु भएको छ ।

उच्च अदालत पाटनमा सोमबार १८ वटा इजलासमा सुनुवाइ भएको थियो । १८ वटा इजलास सञ्चालन हुँदा दुई न्यायाधीशको एकल एकल र संयुक्त इजलास समेत सञ्चालनमा आएको थियो ।

बुधबार निवेदन, अन्तरिम आदेश छलफल आदि समेत गरी कुल २५५ थान मुद्दाहरू पेसीमा चढेकामा ४४ थान मुद्दामा फैसला सुनाइएको छ ।

त्यसै गरी ७१ थान मुद्दामा आदेश भएको छ भने ९२ थान मुद्दा स्थगित भएको छ । १५ थान मुद्दा हेर्न नभ्याइनेमा पर्दा ११ थान मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको थियो । २२ थान मुद्दामा भने अन्य आदेश भएको छ ।

कुल ३६ जना न्यायाधीशको दरबन्दी र उपलब्धता रहेको उच्च अदालत पाटनमा बुधबार ३४ न्यायाधीश उपस्थित भई सुनुवाइमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?